हात्ती नियन्त्रणका लागि बिर्तामोडमा ९ किलोमिटर विद्युतीय तारवार जडानको काम सुरु
बिर्तामोड । बिर्तामोडमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार इलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो ।
वडा नम्बर ६ को देउनियाँ पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईँले बिहीबार शिलान्यास गरेकी छिन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताइन् । उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेको भन्दै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने बताइन् । कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले मानववस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताए । उनले यति पर्याप्त नभए पनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानु पर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने भएकोले सबैले सहयोग गर्नुपर्ने बताए । यस्तै हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगत् कुमार राईले विद्युतीय तारबार निर्माण पछि स्थानीयको बालीनालीमा यस अघि हुने गरेको क्षति कम हुने विश्वास व्यक्त गरे।
१ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नुपर्ने छ । संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो । उनले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिए ।