नगरपालिकाको गाडी लिएर दारु खान ७० किमि यात्रा
पुजन घिमिरे
झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा सुशासनको भाषण दिएर थाक्दैनन् । दुई वर्षअघि दमकको नगर प्रमुखमा निर्वाचित हुँदै गर्दा हौसिएर नगरको पैसाबाट चिया पनि नखाने घोषणा गरेका थिए ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकको बायोमा लेखेका छन्– ‘म यस दमक सहरलाई कमाई खाने भाँडो हैन, जनताको सेवा गर्ने परिसर बनाउन आएको हो । सेवा गर्ने मौका दिनुहोस् ।’ मेयर थापा आवद्ध पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि ‘भ्रष्टचार गर्नु आमाको रगत खानु हो’ भन्दै हिँड्छन् ।
तर, लिङ्देनका प्रदेश अध्यक्ष राम थापाले जितेको दमकमा भने थापाका आसेपासेको रजगज छ । उनीहरु नगरको सम्पत्ति दोहन गर्न हुल बाँधेर नगरपालिका प्रवेश गरेका छन् । थापाले आफूनिकटका राप्रपा युवक संगठनका नेता भुवन ढकाललाई दमकस्थित पशुहाटमा रहेको सरकारी भवनलाई होटल सञ्चालन गर्न सुम्पिएका छन्।
अर्का निकटका व्यक्ति विनोद थापाले अवैध रूपमा नदी दोहन गर्दा पनि मेयर थापा आँखा चिम्लिए उनलाई बचाउन लागेका छन् । यस्तै अन्य कार्यकर्तालाई समेत सचिवालयमा नियुक्ति दिएर दमक नगरमा नागरिकले तिरेको करको अपमान गरिरहेका छन् । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा सरकारी सम्पत्तिको दोहनमा कसरी लागेका छन् भन्ने उदाहरण शुक्रबार इलामको रोङ गाउँपालिकामा प्रस्तुत भएको छ ।
मेयर थापाले आफ्ना स्वकीय सचिव तथा राप्रपा नेता बाँसुदेव भट्टराईलाई नगरपालिकाका ४ वटा सरकारी गाडी जिम्मा लगाएर अन्य कर्मचारी र पार्टी नेतालाई जाँड खान ७० किलोमिटर टाडा पहाडी क्षेत्र इलामको रोङ–६ स्थित सलकपुर पठाएका छन् । नगर प्रमुख थापा चड्ने मे १ झ ११८ नम्बर, यस्तै, उपमेयर चड्ने मे१झ १३२ नम्बरको गाडी र अन्य दुईवटा नगरपालिकाका सरकारी गाडी दिएर जनप्रतिनिधि, कर्मचारी, ठेकेदार र नेतालाई जाँड खान र ‘गुड फ्राइडे’ मनाउन सलकपुर पठाएका हुन् ।
सलकपुरको एक होटलमा उनीहरुले बियर, ओल्ड दरबार नमक रक्सी र अन्य रक्सीसमेत खाएका थिए । उक्त भिडियो हामीसँग सुरक्षित छ । भिडियोमा हेर्दा त्यहाँ पुगेका जनप्रतिनिधि, नेता, ठेकेदार र कर्मचारी हुक्काको धुँवासँग रमाइरहेका छन् ।
सरकारी गाडीको दुरुपयोग गर्दै रक्सी र हुक्काको धुवाँसँग रमाउन दमक ३ का वडाध्यक्ष नवीन बराल, ठेकेदार राजकुमार थापा, नगर प्रमुखका स्वकीय सचिव तथा राप्रपा नेता बाँसुदेव भट्टराई, नगरप्रमुखले एउटा सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष भनाइदिएका नारायण घिमिरे, कर्मचारी केशव प्रसाईं, भरत गौतम, कमलप्रसाद दाहाललगायत १८–१९ जनाको जम्बो टोली रक्सी खानका लागि सरकारी गाडी र सम्पीत्तको दुरुपयोग गर्दै सलकपुर पुगेका थिए । नागरिकले तिरेको करको चरम दुरुपयोग गर्दै उनीहरु रक्सी भट्टीसम्म पुगेका हुन् ।
उनीहरुले आफूहरु कार्यक्रमका लागि आएको बताए पनि अन्य कुनै कार्यक्रम भने थिएन । उनीहरुको उद्देश्य रक्सी खानु मात्र थियो । आफूलाई नारायण घिमिरे बताउने ती टोलीका सदस्यले त पत्रकारलाई कुटपिट गर्ने धम्कीसमेत दिन भ्याए ।
उनले सरकारी गाडी दुरुपयोगको भिडियो नखिच्न भन्दै खिचेमा भिडियो खिच्ने पत्रकारको भिडियो खिचेर भाइरल भनाउने धम्कीसमेत दिन भ्याए ।
सुशासनको गफ दिएर नथाक्ने पार्टीका मेयर थापाले यसरी सरकारी सम्पत्तिको चरम दुरुपयोग गर्नेलाई कारबाही गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।