एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा. पुन
काठमाडौं । जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा राजधानीमा आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा बोल्दै डा पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताउनुभयो ।
विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो । “कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,” उहाँको भनाइ थियो ।
यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताउनुभयो । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताउनुभयो ।
सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ ।
पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उहाँले बताउनुभयो ।