पदक विजेता पलेशालाई राष्ट्रपतिद्वारा सम्मान
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर पौडेलले विजेता गोवर्द्धनलाई सम्मान गर्नुभएको हो ।
पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बुबाआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जित्नुभएको थियो ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरले सम्मान गरेको थियो । साथै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।