थुनुवा राख्ने झापाका हिरासत अत्यन्तै दुर्गन्धित, मानवअधिकारकर्मीद्वारा ध्यानाकर्षण
बिर्तामोड । झापा बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत अत्यन्तै दुर्गन्धित भएको मानवअधिकारकर्मीहरुले बताएका छन् । बिर्तामोडको हिरासत दुर्गन्धितसँगै क्षमताभन्दा धेरै थुनुवा राखेको भनाई छ ।
मानव अधिकार सञ्जाल झापाले गत भदौ ५,६ र ७ गते जिल्लाभरका हिरासतहरूको अनुगमन गरेको थियो । सो क्रममा तत्काल सुधार गर्नुपर्ने हिरासत कक्ष दुई वटा भेटिएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत अति दुर्गन्धित भएको सञ्जालका अध्यक्ष डा.रूपक खनालले जानकारी दिए । उनका अनुसार हिरासत अनुगमन गर्न जाँदा १ मिनेट पनि उभिन गाह्रो भयो । क्षमताभन्दा धेरै थुनुवा राखेको बिर्तामोडको हिरासतमा अधिकांश लागू औषध प्रयोगकर्ता थिए । बिर्तामोडमा महिलाका लागि हिरासत नभएको बताइएको छ । अध्यक्ष खनालले भने, महिला थुनुवालाई भद्रपुर पुराउने गरिएको रहेछ ।
यस्तै, उनले इलाका प्रहरी कार्यालय दमकको हिरासत अव्यवस्थित भएको बताएका छन् । अनुगमनका क्रममा दमकको महिला र पुरुषको थुनुवा कक्षमा एउटै ढोका भएको पाइएको छ । महिना थुनुवा पनि पुरुष थुनुवा राखेको ठाउँबाट जानुपर्ने रहेछ, खनालले भने – स्नान कक्ष र शौचालय अलग्गै, दुर्गन्धित रहेछ ।
हिरासतमा महिला थुनुवाको गतिविधिहरू पुरुषले देख्न सक्ने, छुन सक्ने, अभद्र व्यवहार गर्न सक्ने, अभद्र बोलीचाली र झगडाले महिला थुनुवालाई मानसिक समस्या हुन सक्ने भन्दै मानअधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय झापा मार्फत महान्यायाधीवक्ताको ध्यानाकर्षण गराएका छन् । उनीहरूले महिला थुनुवाको गोपनीयता र मानवअधिकार उपभोगमा समेत गम्भीर असर गर्ने भएकाले तत्काल अलग्गै थुनुवा कक्षको व्यवस्था मिलाउन ध्यानाकर्षण गरेका छन् ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा.रूपक खनाल, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष अधिवक्ता कविता बास्तोला र इन्सेक झापाका प्रतिनिधि अधिवक्ता नरेश खातीले संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्र शुक्रवार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत महान्यायाधीवक्ताको कार्यालय, प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय दमकलाई पठाइएको छ । मानवअधिकारकर्मीको टोलीले जिल्लाभरका हिरासतको अनुगमन गरेको थियो ।