ब्राभो नामक चिट्ठा मार्फत झापामा खुलेआम लुट, सर्वसाधारणको करोडौँ रकम ठगी
बिर्तामोड । झापाको बिर्तामोडमा कानुनविपरित पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणको करोडौँ रकम ठगी गरिरहेको तथ्य खुलेको छ ।
स्वीकृतिबिना ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एन्ड ट्रेड प्रालीले चिट्ठामार्फत किस्ताबन्दीमा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको पाइएको हो । ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्न पिरामिड शैलीमा ग्राहक बनाई पूर्वको झापासहित पहाडी जिल्लाका सयौं सर्वसाधारणबाट मासिक करोडौँ रकम ठगी हुँदै आएपनि नियमनकारी निकाय बेखर छन् ।
बिर्तामोडस्थित भद्रपुर रोडमा मुख्य कार्यालय रहेको मेची कमर्स एन्ड ट्रेड प्रालिले कानुनले प्रतिबन्ध लगाएको पिरामिड शैलीको नेटवर्किङ व्यवसायमार्फत सात हजार ग्राहक बनाई उनीहरूबाट मासिक रुपमा रकम असुल्दै ठगी गरिरहेको छ ।
कम्पनीले विभिन्न स्थानमा एजेन्ट खडा गरी एजेन्टमार्फत मासिक प्रति सदस्य ग्राहक ११ सय ७५ रुपैयाँका दरले रकम असुल्ने गरेको छ । त्यसबापत कम्पनीले प्रत्येक महिना चिट्ठा मार्फत विभिन्न उपहारका साथै किस्तामा टेलिभिजन सेट उपलब्ध गराउने आकर्षक कार्यक्रम राखेर ग्राहकको ध्यान खिच्ने गरेको हो ।
प्रत्येकबाट २७ किस्ता सम्म ११ सय ७५ रुपैयाँका दरले रकम असुल्ने गरी ग्राहक बनाउने गरेको पाइएको छ । कम्पनीले गएको १५ महिनाको अवधिमा सर्वसाधारणबाट १२ करोड ३३ लाख ७५ हजार रुपैयाँ गैर कानुनी हिसाबले असुलेको भएपनि स्थानीय प्रशासन मौन देखिएको छ ।
कानुनतः यसरी नेटवर्किङ व्यवसाय चलाउन नपाइने र पूर्व स्वीकृति नलिई चिट्ठा समेत खेलाउन नपाइने भएपनि कम्पनीले खुलेआम कार्यालय नै स्थापना गरेर सर्वसाधारण ठग्दै आएको छ । कानुनी रुपमा सरकारबाट पूर्व स्वीकृति लिएर मात्रै चिट्ठा खेलाउन पाइन्छ । तर, यो कम्पनीले कतैबाट स्वीकृति लिएको छैन । पिरामिड शैलीको व्यापारले नागरिक ठगिएपछि सरकारले यसमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । कम्पनीले एउटा स्किमबाट सर्वसाधारण ठगी गर्दा समेत नियमनकारी निकायले बेवास्ता गरेपछि हौसिएर अर्को यस्तै प्रकृतिको फण्डा सुरु गर्ने तयारी गरेको छ । यो समूहले बिर्तामोडस्थित होटेल किङ्सवेरीको उत्तरतर्फ कार्यालय खडा गरेर मासिक १४ सय रुपैयाँ प्रति ग्राहक असुल्दै आएको पाइएको छ ।
सात हजार ग्राहक सङ्ख्या पुगेपछि मात्रै मासिक रुपमा चिट्ठा खोल्न सुरु गरिने बताइएको छ । यता, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यो विषयमा आफू अनविज्ञ रहेको र बुझेर मात्रै थप जानकारी गराउने प्रतिक्रिया दिएका छन् । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक शिव बस्नेतले आफूहरूले सबैतिर दर्ता गरेर मात्रै चिट्ठा खेलाउन थालिएको बताउँछन् ।
तर, सरकारबाट कानुनबमोजिम चिट्ठा खोल्न लिनुपर्ने अनुमति भने नलिएको पाइएको छ । त्यस्तै कम्पनीले गर्दै आएको प्रकृतिको व्यवसाय गर्ने स्वीकृति समेत कतैबाट लिएको देखिँदैन । कम्पनीले टेलिभिजन सेट बिक्रीका लागि मात्रै कम्पनी रजिस्टारको कार्यालयबाट अनुमति लिएको पाइएको छ ।
सोही अनुमतिको आधारमा कम्पनीले सदस्य बनाई नेटवर्किङ व्यवसाय चलाउँदै आएको छ । कम्पनी झापा धुलाबारीका दुई जना बस्नेत थर व्यक्तिहरूको नाममा दर्ता रहेको भएपनि गोप्य रुपमा प्रहरीका अवकाशप्राप्त शक्तिशाली व्यक्तिहरूको लगानी भएकाले समेत प्रशासन कानमा तेल हालेर बसेको स्रोतहरू बताउँछन् । फेसबुक लगायतका समासजक सञ्जालमा बिज्ञापन नै गरेर सर्वसाधरणलाई ठगे पनि जिल्ला प्रसाशन कार्यालय वेखबर छ ।
यसरी ठगिन्छन् सर्वसाधारण
कम्पनीले ब्राभो ब्रान्डको टेलिभिजन सेट एकमुस्ट रकम तिरेर किन्न नसक्ने ग्राहकलाई २७ किस्ताको सहुलियतमा चिट्ठामार्फत उपलब्ध गराइने र मोटरसाइकल, कार फ्रिज जस्ता लोभ लाग्दा उपहार पनि चिट्ठामा पर्न सक्ने प्रलोभन देखाउँछ । त्यसका लागि कम्पनीले कमिशन तिरेर आफ्ना बजार प्रतिनिधिहरूलाई ग्राहक बनाउने काममा खटाएको स्रोत बताउँछ । तर, ग्राहक बनिसकेको अवस्थामा समेत टेलिभिजन सेटको बजार मुल्य कति पर्छ भन्ने कुरा सर्वसाधारणलाई कतैबाट पनि जानकारी दिइँदैन । जब ग्राहकको सङ्ख्या सात हजार पुग्छ तब कम्पनीले चिट्ठा उडाउन सुरु गर्छ । प्रत्येक महिना झापाका महँगो होटेलमा उडाइने यो चिट्ठामा पुरस्कार स्वरूप मोटर साइकल, फ्रिज वासिङमेसिन लगायतका पुरस्कार राखिएको हुन्छ ।
यही क्रम निरन्तर २४ महिनासम्म चलेपछि सात हजार ग्राहकमध्ये ६ हजार ५ सय ९६ जना ग्राहकलाई २४ इन्चको ब्रोभो टेलिभिजन प्रदान गरिन्छ । २४ किस्तासम्म मासिक ११ सय ७५ रुपैयाँका दरले जम्मा २८ हजार २ सय रुपैयाँ प्रतिग्राहक असुलेको कम्पनीले २४ इन्चको ब्राभो नाम दिइएको टेलिभिजन सेट थमाएर सर्वसाधारणलाई ठग्ने गरेको छ ।
स्मरण रहोस् चाइनिज र सोही स्तरका अन्य ब्रान्डको २४ इन्चको टेलिभिजन सेटको होलसेल बजार मुल्य १२ देखी १७ हजार रुपैयाँ सम्म मात्रै पर्ने गरेको टेलिभिजनका थोक बिक्रेताहरू नै बताउँछन् । कम्पनीले खास गरेर मजदुर वर्गका मानिस लक्षित ठगी गर्ने गरेको ग्राहक बनेकाहरूको दाबी छ । कम्पनीले यसरी विभिन्न अफर देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्न सफल भएपछि देशका अन्य विभिन्न सहरहरूमा पनि यही प्रकारको सङ्गठित ठगी धन्दा सुरु भएको बताइएको छ ।