बेपत्ता भएको दुई दिनपछि कचनकवलकी नेहारिका मृत भेटिइन्
झापा । जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका मृत भेटिएकी छन् ।
बगाएको ठाउँदेखि करिव २ किलोमिटर दक्षिण धानबारीमा केहीबेर अघि उनको शव फेला परेको हो । चमरभिट्टा गाउँदेखि करिव पाँच सय मिटर पूर्व नेपाल भारत सीमा नजिक धानवारीमा उनको शव फेला परेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । खोजी गर्नेक्रममा यसअघि आज बिहान उनको साइकल भेटिएको थियो ।
कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रवार दिउँसो जमुना खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि उनलाई खोलाले बगाएको थियो ।