स्थानियको कुरा नसुन्दा पाथीभरा केबलकार शिलान्यासमा झडप, तीन घाइते
झापा । ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणको विषयमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको शर्माले बताए ।
उनका अनुसार, सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । ‘अस्पताल नै लानुपर्ने गरी चाहिँ तीन जना घाइते हुनुभएको छ’, शर्माले अनलाइनखबरसँग भने ।
शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले बताए ।
पाथीभरा केबलकार कम्पनीले निर्माणको ठेक्का पाएपछि शुक्रबार दिउँसो सत्तारुढ नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, त्यहाँ पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने पक्षका मानिसहरु विरोध गर्न पुगेका थिए ।
सीडीओ भन्छन् : अप्रिय घटना हुन नदिन चाबी नियन्त्रणमा लियौं
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्माले भने तल्लो फेदीको परिस्थिति मूल्यांकन गरेर स्थिति थप विग्रिन नदिन चाबी लिइएको बताएका छन् ।
‘हिजो निर्माण पक्ष र विपक्षीलाई राखेर प्रशासन कार्यालयमा छलफल पनि गरेका थियौं, त्यतिबेला अहिले जति गर्ने भनेको थियो, त्यो गरेर मेसिन थन्काउने भनिएको थियो’, शर्माले भने, ‘उहाँहरुले पर्यटक प्रहरीको भवन शिलान्यास पनि गर्नुभयो । केबलकारको पनि शिलान्यास भयो । त्यसक्रममा अर्को पक्षबाट थप जटिलता हुने देखेर हामीले विवाद नबढोस् भनेर नियन्त्रणमा लिएको हो ।’
प्रशासनको उद्देश्य मुठभेड नहोस्, क्षतिको न्यूनीकरण होस् भन्ने मात्र रहेको अनलाइनखबरसँग टेलिफोनमा बताए । अहिले स्थिति नियन्त्रणमा भएपनि दुई पक्षका व्यक्तिहरु घटनास्थल वरिपरि नै रहेको उनले बताएका छन् ।
मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका कारण ढुंगा हान्नेहरुको मनोबल बढेको आरोप लगाएका छन् ।
सरकारको अनुमति लिएर केबलकार बनाउने योजना अघि बढेका बेला शिलान्यास गर्न जाँदा प्रशासनले नै अवरोध गरेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भएको मादेनको जिकिर छ । ‘सरकारले अनुमति दिएर कम्पनीले कन्ट्याकवालालाई सम्झौता दिएर काम गर्नुस् भन्यो, शिलान्यास कार्यक्रम राखियो’ ‘तर, खन्ने बेला सीडीओले इन्स्पेक्टरलाई चाबी खोस्न लगाए, त्यसपछि ढुंगा हान्नेहरुको मनोबल बढ्यो ।’