रविलाई फेरि पक्रिने योजनाबाट यसरी ‘ब्याक’ भयो सरकार
काठमाडौ । प्रहरीको तयारी थियो– रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतले छाड्ने आदेश दिए पनि फेरि पक्राउ गर्ने । तर, बिहीबार साँझ अदालतको आदेशपछि उनी काठमाडौंमा उपस्थित हुने गरी रिहा भएका छन् । अन्यत्र पनि पक्राउ पुर्जी जारी भएको भन्दै छुटेलगत्तै पक्राउ गर्ने योजना रहे पनि सबैभन्दा धेरै कसुर लगाइएकै मुद्दामा अदालतबाट धरौटी माग गर्ने आदेश भयो । राज्यले ‘अत्याचार’ गरिरहेको भनेर आलोचना भइरहेको वेला आदेश पनि त्यस्तो आएपछि रविलाई फेरि पक्राउ गर्नबाट सरकार ‘ब्याक’ भयो ।
‘प्रहरीले धेरै दमन गर्यो भन्ने गुनासोपछि माथिकै आदेशमा यति सहुलियत दिएका हौँ,’ कास्की प्रहरीका एक अधिकारीले भने । कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ । काठमाडौंमा भने उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको मात्र अभियोग लगाइएको छ । उनीविरुद्ध पाँच जिल्लामा अनुसन्धान भए पनि सम्पत्ति शुद्धीकरणको मुद्दा भने कास्कीबाहेक अन्यत्र नलगाउने प्रहरी रणनीति छ । कास्कीमा रविविरुद्ध २७ करोड ८९ लाख बिगो कायम गरी सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । उनी ग्यालेक्सी टिभीमा सञ्चालक हुँदा विभिन्न सहकारीबाट आएको सबै रकमलाई सम्पत्ति शुद्धीकरणको बिगो बनाइएको छ । नयाँपत्रिकमा खबर छ ।