स्वर्णलक्ष्मीका सञ्चालकसँग तीन लाख धरौटी, प्रत्यक्ष नजोडिएका रविलाई भने ६० लाख
काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा पनि धरौटीमा छुटेका छन् । तर, स्वर्णलक्ष्मी सहकारीको बचत संगठित रूपमा ठगी गरेको अभियोगमा सञ्चालक र व्यवस्थापकलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले प्रत्यक्ष नजोडिएका लामिछानेसँग भने ६० लाख घरौटी मागेको छ काठमाडाैं ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गरेको उक्त आदेशअनुसार धरौटीको बैंक जमानत बुझाएर लामिछाने बुधबार न्यायिक हिरासतबाट रिहा भएका छन् । यसअघि २४ पुसमा अदालतले सोही मुद्दामा स्वर्णलक्ष्मीका निवर्तमान सञ्चालक समिति सदस्य कमल लामासँग तीन लाख र लेखा समिति सदस्य सुनिता नेवासँग चार लाख धरौटी मागेको थियो । हिरासतमा रहेका सञ्चालक लामा र लेखा समिति सदस्य नेवा छुटिसकेका छन् । तर, सहकारीको सञ्चालक, व्यवस्थापक, बचतकर्ता र ऋणी केही पनि नभएका लामिछानेसँग लामा र नेवाको भन्दा १५ गुणा बढी धरौटी मागेको छ । यही सहकारीको पूर्वसञ्चालक रहेकी कांग्रेस सांसद माया राईको भने तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।
स्वर्णलक्ष्मीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएकोमा लामिछाने सो मिडियाको सञ्चालक हुँदा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्दा लामिछाने र जिबी राईको संयुक्त नाममा गाडी खरिद गर्न ऋणी खाता बनाइएको भन्दै सहकारीको सफ्टवेयरमा देखिएको नामलाई प्रमाणस्वरूप पेस गरेको थियो । तर, ऋण माग गरेको, केवाइसी फाराम, धितोलगायत कुनै पनि प्रक्रियामा लामिछाने संलग्न भएको प्रमण भने मिसिलमा देखिँदैन । लामिछानेले भने आफ्नो नाममा नक्कली ऋणी खाता खोलिएको दाबी गरेको बताउँदै आएका छन् ।
धरौटीमा छुटेपछि लामिछानेले काठमाडौं जिल्ला अदालत परिसरमा उपस्थित समर्थकलाई धन्यवाद दिँदै अदालतको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । ‘म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन,’ उनले भने ।
पोखराको सूर्यदर्शन सहकारी मुद्दामा धरौटीमा छुटेपछि लामिछाने गत आइतबार आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान भएकोमा सोमबार र बुधबार थुनछेक बहस भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा मुख्य आरोपीहरू भने अझै फरार छन् । नयाँ पत्रिकामा खबर छ ।