६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर

राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ।

झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ। यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो।

विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युतीय राहदानी सेवा सुरू गर्दा ३४ पृष्ठ र ६६ पृष्ठ गरी दुई प्रकारको राहदानी सेवा प्रवाह गर्दै आएको थियो। त्यही बेला विभागले ६६ पृष्ठको राहदानी ५ लाख थान छपाएको थियो। तर गएको डेढ वर्षमा ६६ पृष्ठको  राहदानी जम्मा ५ हजार थान खपत भएपछि विभागले स्टकमा रहेको राहदानी खपत गराउन भन्दै दस्तुर छुट गरेको हो।

विभागले ६६ पृष्ठको राहदानी खपत गराउन भन्दै आजैदेखि ३४ पृष्ठको राहदानी वितरण बन्द गरेको छ।

विभागका प्रवक्ता दुरपदा सापकोटा भन्छिन्, ‘आजदेखि फाराम भर्ने सबैको ६६ पृष्ठकै राहदानी हुन्छ तर दस्तुर बढी तिर्न पर्देन।’

अब जिल्लाहरूबाट राहदानी बनाउनेहरूले ५ हजार रुपैयाँ र विभागबाट १२ हजार रुपैयाँ दस्तुर बुझाएर ६६ पृष्ठकै राहदानी पाउने प्रवक्ता सापकोटाले बताइन्। यसअघि विभागबाट ६६ पृष्ठको राहदानी दस्तुर २० हजार रुपैयाँ तिर्नुपर्थ्यो। 

साथै स्टकमा रहेको ६६ पृष्ठको राहदानी सकिएपछि नयाँ कायम भएको दस्तुर के हुन्छ भन्नेबारे विभाग नै अन्यौलमा छ।

‘६६ पृष्ठको राहदानी हामीले सोचेर छापे अनुसार गएन। अब यो सकिएपछि दस्तुर के हुन्छ भन्न सकिएन। सरकारको निर्णयको कुरा भयो,’ सापकोटाले भनिन्, ‘३४ पृष्ठको हकमा भने दस्तुर पाँचै हजार रहेकाले प्रश्न भएन तर पछि ३४ पृष्ठले नै पुग्दो रैछ भन्ने भयो भने ६६ पृष्ठको टेन्डर नल्याउन पनि सक्छौं।’

Source: Setopati

Similar Posts