सिँगारियो मेची रंगशाला, यस्तो छ आजको अवस्था

झापा । झापाकै पुरानो र इतिहास बोकेको रंगशाला हो, सदरमुकाम भद्रपुरको मेची रंगशाला । ०२५ सालमा निर्माण भएको सरकारी समित्वको मेची रंगशाला कुनैवेला नाम चलेको रंगशाला थियो । यहाँ भारत, बंगलादेश, नेपाललगायत देशका चर्चित खेलाडीले खेल खेले । जब चार दश दशकअघि सुरु भएको मोफसलको प्रतिष्ठित गोल्डकप त्रिभुवन गोल्डकप राजनीतिक परिवर्तनले ०६१ पछिका संस्करण न हुन छाड्यो तब यो रंगशाला जर्जर बन्यो । न त खेलकुदका कुनै गतिविधि भए न त राज्यले संरक्षणमै चासो देखियो ।

तर, दुई वर्षदेखि मेची रंगशालाको चमक फर्किएको छ । जब ०७९ फागुनमा भद्रपुर झापा गोल्डकप यही रंगशालामा गरियो त्यसपछि यो रंगशालाले आफ्नो इतिहास ब्यूँझ्याएको छ । ०७९ मा भद्रपुर झापा गोल्डकपका लागि तयार पारिएको रंगशालाले तरिफ पायो । त्यसयता निरन्तर रंगशालामा खेलकुदका गतिविधि भए । रंगशाला जीर्णोद्वारका लागि भद्रपुर झापा गोल्डकप आयोजक समिति पनि लागि प¥यो । ७ फागुन (बुधबार)बाट दोस्रो संस्करण भद्रपुर झापा गोल्डकप हुँदैछ । रंगशाला भने दु्ई वर्षअघि भएको भद्रपुर झापा गोल्डकपको भन्दा अकर्षक बनाएर सिँगारिएको छ । जीर्ण भएका पक्की संरचनालाई रंगरोगन गरिएको छ । मैदानको ‘ग्रास’ले पनि यसको चमक बढाएको छ । भद्रपुर झापा गोल्डकपले मेची रंगशालालाई ब्युँझाउने जुन उद्देश्य लिएर गोल्डकपको सुरुवात गरेको थियो त्यो उद्देश्य पूरा भएको छ । ‘यस वर्ष अघिल्लो संस्करण भन्दा पनि आकर्ष रंगशाला बनाएका छौँ । रंगशालालाई बेहुलीझैँ सिंगारेका छौँ,’ भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकलालले भने, ‘यो हाम्रो लागि गर्वको कुरा हो । यो गोल्डकपलाई मोफसलकै प्रतिष्ठित बनाउन पाउँदा खुसी छौँ ।’

इतिहास बोकेको मेची रंगशालाको स्तरोन्नति खाँचो भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । ‘भद्रपुर झापा गोल्डकपलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्छ । मेची रंगशालाको स्तरोन्नतिको गर्नैपर्नेछ,’ उनले भने, ‘रंगशालाको मैदानको छेउमा ट्र्याक नहुँदा एथ्लेटिक्सका खेलहरू हुन सकेको छैन । यहाँ ट्र्याक आवश्यक छ । यो नगरपालिकाले मात्र सक्दैन । यसका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्छ ।’

भद्रपुर झापा गोल्डकपले यसपटक उमेर समूहका पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको स्मृतिमा खेलाउँदैछ । ७ फागुनदेखि १६ फागुनसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको सोमबार रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भद्रपुर झापा गोल्डकपका महासचिव जीवन श्रेष्ठले जानकारी दिए । ‘दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । गोल्डकपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ,’ उनले भने, ‘करिब २० हजार दर्शक अँट्ने गरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।’
