आहा विद्यालयमा ‘डेटिङ’
काठमाडौ । नेपालीमा एउटा चर्चित उखान छ,‘उम्रिन नपाई तीनपात ।’ रोल्पाको एउटा विद्यालयमा सो उखानसँग मेल खाने गतिविधि देखिएको छ । सो विद्यालयका विद्यार्थीहरु पढ्न भन्दापनि मायापिरती गाँस्नमा बढी केन्द्रित देखिएका छन् । उनीहरुले ‘रोमान्स’ गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । विद्यालय शिक्षा आर्जन गर्ने थलो भएपनि विद्यार्थीहरुले ‘डेटिङ स्पट’ बनाएको पाइएको छ ।
माडी गाउँपालिका–३, तालाबाङ्गमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुको चर्तिकलाले यतिबेला सामाजिक सञ्जाल तताएको छ । भिडियोमा छात्र र छात्रा अस्वाभाविक गतिविधि गरिरहेको देखिन्छ । कक्षाकोठाको हरेक बेञ्चमा छात्र र छात्रा एकसाथ बसेका हुन्छन् । कुनापट्टी छात्रा र छेउपट्टी छात्र हुन्छन् ।
उनीहरु एकअर्कासँग पुरै टाँस्सिएका हुन्छन् । यता, छात्रले छात्रालाई अंगालो हालिरहेको भिडियोमा देखिन्छ । भिडियो छ्याप्छ्याप्ती बनेपछि विद्यालयको बद्नामी भएको छ । अर्कोतिर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भविष्यका कर्णधारको सो हर्कतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता भावुक मगर (अमृत) ले त्यस गतिविधिमाथि गहन समीक्षाको आवश्यकता रहेको बताएका छन् ।
उनले लेखेका छन्,‘यो आम चिन्ताको विषय हो । हाम्रो शिक्षा कता जाँदै छ, आज यस्तो हुँदै गयो भने भोलि हाम्रो पुस्ता कता जाँदै छ ? गम्भीर समीक्षा हुन आवश्यक छ । यसलाई कसैले बाँकी विशेष राजनीति अन्य केही जोड्छ भने त्यो जति मुर्खता केही छैन् ।’ त्यसैगरी, सर्वोच्च पुन मगरले सबै विद्यालयको ध्यानाकर्षण गराएका छन् ।
‘यो भिडियोले नेपाल राष्ट्रिय मावि माडी ३, तालाबाङ्गको मात्र हैन, सिंगो माडी गाउँपालिकाभित्रका सबै विद्यालय र शिक्षा क्षेत्रको गम्भीर ध्यानाकर्षण गराएको छ’,उनले भनेका छन् । विद्यालयका प्रधानाध्यापक लोकचन्द्र प्रकाश घर्तीले ती विद्यार्थीहरुको पहिचान भइसकेको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरु कक्षा १० मा अध्ययनरत छन् ।
सो घटना गत भदौ २६ गतेको भएको बताउँदै उनले त्यसबारे छानबिन भइरहेको जानकारी दिए । जनआस्थासँग उनले भने,‘मैले पनि आज बिहान मात्रै भिडियो देखे । यो अत्यन्तै गम्भीर विषय हो । यसले गरेर विद्यालयको सर्वत्र बद्नामी भएको छ । हामीले विद्यार्थीको पहिचान गरिसकेका छौं । आज बैठक बोलाएका छौं, के गर्ने छलफल गर्छौं ।’