अवैध नेपाल छिरेका तीन पूर्वभुटानी शरणार्थी पक्राउ

नेपालबाट अमेरिका पुनर्वास भएका, तर विभिन्न अपराधमा संलग्न रहेको भन्दै अमेरिकाले भुटान नै पठाइदिएका तीन पूर्वभुटानी शरणार्थी नेपाल आइपुगेका छन् । प्रहरीले शुक्रबार राति ११ बजेतिर झापाको दमकस्थित भुटानी शरणार्थी शिविर आइपुगेका उनीहरूलाई शनिबार दिउँसो शिविरबाट पक्राउ गरेको हो । अमेरिकाले उनीहरूसमेत १० पूर्वभुटानी शरणार्थीलाई भारतको दिल्ली हुँदै भुटान फर्काएको थियो ।
झापा जिल्ला प्रहरीका अनुसार शरणार्थी शिविरमा लुकीछिपी बसेको सूचनाका आधारमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र रोशन तामाङ पक्राउ परेका हुन् । अमेरिकी सरकारले उनीहरूलाई न्युजर्सी विमानस्थलबाट २५ मार्चमा भारतको नयाँदिल्लीको विमानस्थल हुँदै भुटानको पारो विमानस्थलसम्म पु¥याएको थियो ।
भुटानले उनीहरूलाई ट्राभल डकुमेन्ट लिएर आफ्नो नागरिकका रूपमा स्वीकार गरेको थियो । तर, भुटानको पारो पुग्नेबित्तिकै त्यहाँको प्रहरीले पक्राउ गरेको र एक रात स्थानीय होटेलमा राखेको खुलेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएका छन् । त्यसपछि प्रहरीले नै जनही ३०–३० हजार भारतीय रुपैयाँ दिएर नेपाल–भारत सीमावर्ती भारतीय सहर पानीट्यांकीमा ल्याएर छाडेको र त्यहाँबाट उनीहरू लुकीछिपी नेपाल प्रवेश गरेको प्रहरी स्रोतले बतायो । झापा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार उनीहरूलाई अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले भिसा नलिई आएको हुनाले उनीहरूलाई भारततिर डिपोर्ट गर्न लागिएको संकेत गरे । पक्राउ परेकामध्ये सुवेदी र तामाङमाथि अमेरिकामा ग्रस सेक्सुअल इम्पोजिसन आरोप छ । यसलाई अमेरिकामा गम्भीर यौन हिंसाको आरोपका रूपमा लिइन्छ । त्यस्तै, दर्जीलाई मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोप रहेको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।
उनीहरू अमेरिकाको न्युजर्सी र पेन्सलभेनियामा बस्दै आएका थिए । पक्राउ परेकामध्ये सुवेदी सन् २०१७ मा पुनर्वास भएर अमेरिका पुगेका थिए । उनी सन् २०२२ मा ग्रस सेक्सुअल इम्पोजिसन मुद्दामा करिब एक वर्ष जेल बसेको अनुसन्धानमा खुलेको छ । त्यस्तै, तामाङ सन् २०११ मा भुटानी शरणार्थी शिविरबाट पुनर्वास भएर अमेरिका गएका थिए । उनी ग्रस सेक्सुअल इम्पोजिसनमा सन् २०१९ मा १८ महिना जेल बसेको खुल्न आएको छ । दर्जी भने सन् २०१० मा अमेरिका पुनर्वास भएका भुटानी शरणार्थी हुन् । सन् २०१९ मा ड्रिङकिङ एन्ड ड्राइभिङ मुद्दामा परेका थिए । उनी केही दिन मात्र अमेरिकाको जेलमा बसेको खुलेको छ ।
दमकस्थित भुटानी शरणार्थी शिविरमा सुवेदीका बुबा बस्छन् । उनी नेपाल आएर बुबासँगै बसेका थिए भने दर्जी र तामाङ शिविरमा रहेका आफन्तकहाँ बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूसँगै अमेरिकाले भुटान पुर्याएका अन्य सातजना भने कहाँ छन् पत्तो नलागेको जनाएको छ । अमेरिकाका विभिन्न सहरमा करिब एक लाख पूर्वभुटानी शरणार्थीलाई पुनस्र्थापित गरिएको छ । जानकारहरूका अनुसार उनीहरूमध्ये विभिन्न अपराधमा संलग्न भएका, तर अमेरिकी नागरिकता नपाएकाको संख्या करिब चार हजार छन् । ‘अमेरिकी सरकारको दबाबपछि भुटानले उनीहरूलाई आफ्ना नागरिक मानेर स्वदेश लैजान ट्राभल डकुमेन्ट पनि दियो, तर उनीहरूलाई भुटानले निकाला गरेर पुरानै घाउ दोहो र्याएको छ,’ अमेरिकाको पेन्सिलभेनियामा भुटानी समुदायका अगुवा तिलक निरौलाले भने, ‘हामी अचम्मित भएका छौँ ।’