पाँचथरमा डढेलोमा दुईको मृत्यु, आगो लगाउने तीन पक्राउ
झापा । पाँचथरमा डढेलोमा परी मृत्यु हुनेहरुको संख्या दुई पुगेको छ ।

गम्भीर घाइते भएकी थप एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । हिजो अपरान्ह फिदिम नगरपालिका–१३ जौबारीस्थित रानी सामुदायिक वनमा लागेको डढेलोमा फस्दा फिदिम नगरपालिका–१३ की ४७ वर्षीया उषाकला राई नेम्वाङ घाइते भएकी थिइन्।
उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए। उनका अनुसार नेम्वाङलाई सिन्धुली पुर्याइएको थियो।
यसअघि हिजो मात्रै पाँचथरकै कुम्मायक गाउँपालिका–३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको उपचारका लागि लैजाने क्रममै मृत्यु भएको थियो । कुम्मायक–३ ताम्राखु जंगलमा लागेको डढेलोमा परी गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा भेडेटारमा पुग्दा मृत्यु भएको थियो। सोही डढेलोमा परी जलेर घाइते भएका २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफेको विराटनगरस्थित सिटि अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको पनि अवस्था गम्भीर छ। कुम्मायक गाउँपालिका–१ खाल्डेमा लागेको आगो निभाउने क्रममा स्थानीय ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका थिए। उनको अवस्था भने सामान्य छ।
यसैबीच पाँचथरको फिदिम नगरपालिका ४ र १० का सार्वजनिक तथा निजी वनमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ की सुकमाया तामाङ, फिदिम–१० की सुजिता खजुम र दिलु खजुम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुमध्ये सुकमाया तामाङले चैत १९ गते आफ्नै बारीमा झिक्रा डढाउन बालेको आगो स्थानीय सिंहदेवी सामुदायिक वनमा सल्केको थियो ।
यस्तै, सुजिता र दिलुले पनि चैत १९ गते दिउँसो आफ्नो बारीको पात पतिङ्गर डढाउने क्रममा बालेको आगो सल्किएर खलंगाटार माविको वन क्षेत्रमा प्रवेश गरेको थियो ।
दुवै ठाउँको आगो स्थानीय प्रहरीले निभाएका थिए । नियन्त्रणपछि सोधपुछका क्रममा उनीहरुले आगो सल्काएको खुलेपछि पक्राउ गरी आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी पहिलो चरणमा पाँचथर जिल्ला अदालतबाट ५–५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साह (तेली) ले जानकारी दिए । पछिल्लो समय जिल्लाका विभिन्न वन जंगलमा आगो सल्काउने क्रम बढेको छ ।