एसइईको नतिजा सार्वजनिक, ४ बजे पत्रकार सम्मेलन
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।
२०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले बिहीबार अपरान्ह सार्वजनिक गरेको हो।
यसअघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रका बिष्णुनारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दिने तयारी भइरहेको छ।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।
यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने बताएको थियो।
२०७८ साल पुस ७ गते सो निर्देशिका जारी भएको थियो। निर्देशिकामा न्यूनतम ३५ प्रतिशत प्राप्त नगर्नेको प्रमाणपत्र अवर्गीकृत गर्ने प्रावधान रहेको थियो। सोही वर्षको फागुन १७ गते निर्देशिकामा पहिलो संशोधन गरी २०८० सालको एसईईबाट मात्र सो प्रावधान लागू गर्ने व्यवस्था गरियो । २०७९ सालको एसईईका हकमा साबिकको निर्देशिकाबमोजिम मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको छ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था छ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।
Source: Setopati