बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले गर्यो तीन निर्णय
कोशीमा सभामुखसहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने
सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आजै सकिँदैछ।
सत्ता गठबन्धनको बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो।
‘कोशी प्रदेशको सरकार गठनलाई लिएर त्यहाँ केही द्विविधा पनि थियो। असमझदारी पनि देखिएको थियो। अहिले ४७ जना सांसदको हस्ताक्षर बुझाइहाल्नुस् भनेर निर्देशन दिने निर्णय गरेका छौं,’ बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सेतोपाटीसँग भने, ‘सभामुख सांसद पनि भएकाले उहाँको पनि हस्ताक्षर बुझाउने निर्णय भएको छ।’
सत्ता गठबन्धनको बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको छ।
बुधबार संसदमा टेबल हुन नसकेपछि मिटरब्याजी सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ।
‘प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित विपक्षी दलहरूको अवरोधका कारण अध्यादेश त्यहाँ टेबल हुन पाएन। ६० दिन कटेकाले अध्यादेश निष्क्रिय भएर मिटरब्याजी खुसी हुने अवस्था बन्यो। अब नियमित प्रक्रियाबाट कानुन बनाउन विधेयक ल्याउनेबारे छलफल गरेका छौं। सत्तागठबन्धन दलबीच कुनै असमझदारी छन् भने त्यसलाई पनि तुरून्तै समाधान गरेर विधेयक ल्याउने निर्णय गर्यौं,’ पाण्डेले भने।
सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद् बैठक अवरूद्ध गर्नु संसदीय मान्यता, मूल्यविपरीत रहेको निष्कर्ष निकालेको छ।
‘प्रधानमन्त्री यही संसदले निर्वाचित गरेको हो। उहाँले मलाई प्रधानमन्त्री प्रितम सिंह दिल्ली जानुभयो भन्ने अभिव्यक्ति दिनु भयो भनेर एमालेलगायत विपक्षी दलहरूले सदन अवरूद्ध गरेका छन्। प्रधानमन्त्रीको कुनै अभिव्यक्तिमा आपत्ति छ भने उहाँसँग जवाफ माग्नु पो पर्छ। सिधै राजीनामा माग्नु असान्दर्भिक हो भन्ने कुरा भयो। यस सम्बन्धनमा प्रधानमन्त्रीले सदन फेस गर्ने कुरा भयो। एमालेलगायत दलले सदन अवरूद्ध गरे गर्छन्, त्यो उनीहरूको कुरा भयो। हामीलेचाहिँ अहिले राजीनामा होइन, सदन फेस गर्ने नै निष्कर्ष निकाल्यौं,’ पाण्डेले भने।
गत असार १८ गते पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको बताएपछि प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको थियो।
बुधबार संघीय संसद्को दुबै सदनमा उसले राजीनामा मागेर अवरूद्ध गर्यो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत साथ दिएको थियो।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डे सहभागी थिए।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, कांग्रेस उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा थिए।
Source: Setopati