सानेपामा देउवाको खोजी

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा दुई दिनदेखि गुलजार छ।

४२ जिल्ला सभापति, १८ जिल्लाबाट आएका प्रतिनिधि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केही केन्द्रीय सदस्यहरू बिहीबार र शुक्रबार केन्द्रीय कार्यालयमै छन्।

आकलझुकल केन्द्रीय कार्यसम्पादन र पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने गर्छ।

लामो समयदेखि केन्द्रीय समिति बैठक नबस्दा केन्द्रीय कार्यालय सुनसानजस्तै थियो।

विधानअनुसार २ महिना अन्तरालमा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षदेखि बसेको छैन।

सभापति देउवाले असार २७ देखि केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। त्यसअघि महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा जिल्ला सभापतिहरूलाई केन्द्रीय कार्यालय बोलाएर सदस्यताबारे प्राविधिक जानकारी दिइएको छ।  

जिल्ला सभापतिका सुझाव अब बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी छ।

देशव्यापी रूपमा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने, एकतावद्ध हुनुपर्ने र विधि विधानअनुसार पार्टी चल्नुपर्ने सुझाव जिल्ला सभापतिहरूको छ।

सदस्यताको प्रविधिमैत्री व्यवस्थापन र विभिन्न तहका सम्मेलन गरे वा नगरेकोबारे जानकारी दिन जिल्ला सभापतिहरूलाई समय दिइए पनि उनीहरूले पूर्वनिर्धारित एजेन्डाबाहिर पनि केही विषय राखेका छन्।

बैठकमा सभापति देउवा उपस्थित नभएकोमा पनि जिल्ला सभापतिहरूले महामन्त्रीद्वय थापा र शर्माको ध्यानाकर्षण गराएका थिए।

‘जिल्ला सभापति बैठकमा सभापति शेरबहादुर देउवा किन आउनुभएन, मलाई यसबारे थाहा छैन,’ सर्लाही सभापति सुरेन्द्र सिंहले भने, ‘यतिका धेरै सभापति आएका ठाउँमा सभापति देउवा पनि आइदिएर केही कुरा राखिदिनुभएको भए राम्रै हुन्थ्यो।’

काठमाडौं आएका जिल्ला सभापतिहरू केन्द्रीय सभापति देउवा सानेपामा नभेटिएपछि निवास धुम्बाराहीमै पुगेर भेटघाट गरेका छन्। ‘सभापतिलाई भेट्न म पनि भोलि जान्छु,’ सिंहले भने।

शुक्रबार सुनसरी सभापति केदार भण्डारीसहित नेताहरूले धुम्बाराहीमै पुगेर सभापति देउवासँग भेटेका थिए।

रुपन्देही सभापति रामकृष्ण खाण, स्याङ्जा सभापति राजु थापा, संखुवासभा सभापति दीपक खड्का लगायतले पनि सभापति देउवा सानेपा उपस्थित नभएकोबारे बिहीबारको बैठकमा चासो राखेका थिए।

यसअघिका जिल्ला सभापति भेलामा सभापति, शीर्ष नेताहरू उपस्थित हुने गर्थे।

यसपालि भने जिल्ला सभापति भेला नभई बैठक गरेकोले औपचारिक उद्घाटन र भाषणको कार्यक्रम थिएन। विधानले नै केन्द्रीय कार्यालय र संगठनको कामकारबाही महामन्त्रीले हेर्ने अधिकार दिएको छ।

‘यो जिल्ला सभापति बैठक हो, भेला होइन। पार्टीको नियमित कामअनुसार नै यो बैठक गरिएको हो,’ महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘पार्टी सदस्यता र विभिन्न तहका सम्मेलनबारे जिल्ला सभापतिहरू सँग आन्तरिक बैठक गरिएको हो।’

जिल्ला फर्केर के काम गर्ने साझा प्रतिबद्धता जनाएर शुक्रबार बैठक सकिने शर्मा बताउँछन्।

‘विधानले दिएको काम महामन्त्रीहरूले गरेनन् भन्ने अनि काम अघि बढाउँदा किन गरियो भन्ने?,’ शर्माको प्रश्न छ, ‘सभापतिसँग निवासमै उपसभापतिहरू र महामन्त्रीहरूले छलफल गरेरै जिल्ला सभापति बैठक राखिएको हो।’

सभापति देउवासँग फरक मत राखेर जिल्ला सभापति बैठक गरेको भए केन्द्रीय कार्यालयमा नभई अन्यत्रै छलफल हुने विगतको अभ्यास रहेको उनको भनाइ छ।

‘सभापतिसँग फरक मत राखेर, उहाँलाई जानकारी नै नदिई राखेको भए त बैठक होटलमा हुन्थ्यो। हामीले केन्द्रीय कार्यालयमा बैठक राखेको हो,’ उनले भने, ‘सभापति देउवा बैठकमा आउनु भएन, उहाँलाई जानकारी नदिई बैठक गरियो भन्नु बेकार कुरा हो।’

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जिल्ला सभापति बैठक गर्न सभापति देउवाले महामन्त्रीहरूलाई जिम्मेवारी दिएको बताए। केन्द्रीय कार्यालयकै आयोजनामा बैठक गरेर अनलाइनबाट सदस्यता वितरण लगायतबारे जानकारी दिएको उनले बताए।

जिल्ला सभापतिहरूले उठाएका प्रश्नमाथि महामन्त्रीद्वय थापा र शर्माले जवाफ दिएका थिए। 

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार १४ बुँदे आन्तरिक प्रतिबद्धतासहित जिल्ला सभापतिहरूको बैठक सकिएको छ। बैठकमा आएका सुझाव पार्टी तहमा छलफल गरी अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने प्रतिबद्धता महामन्त्रीद्वय थापा र शर्माको छ।

Source: Setopati

Similar Posts