नाम सिंगापुरे, पोसाक रैथाने
संघीय राजधानी सहरमा लुगा किन्न पसलको के अभाव! खालखालका देशी–विदेशी लुगा पाइन्छन्; सस्तो, महँगो र अनेक डिजाइनका। कुनै जाति विशेषको पोसाक चाहियो भने चाहिँ कहाँ जाने!
अनुभवीहरूका अनुसार यस्तो पोसाक पनि नपाइने होइन तर ठ्याक्कै जातीय संस्कृति झल्किने गरी ढाँचा मिलेका पाउन मुश्किल पर्छ। कहीँ न कहीँ केही न केही नमिलेको हुन सक्छ। सेटको सबै नपाइन पनि सक्छ।
राजधानी सहरमा गुरूङ जातिको पोसाक चाहियो भने सबै आवश्यकता पूरा हुने ठाउँ छ। राई, मगर र तामाङ जातिका पोसाक पनि पाइन्छ। पोसाक मात्रै होइन, गरगहना र जुत्ताचप्पल पनि पाइन्छ।
महाराजगञ्ज, चक्रपथको नारायण गोपाल चोकबाट बाँसबारीतर्फ जाँदा दायाँतिर देख्नु हुनेछ ‘भट्ट प्लाजा’। त्यसको दोस्रो तलामा छ ‘सिंगापुरे फेन्सी स्टोर’, त्यहीँ तयार हुन्छ खाँट्टी जातीय–सांस्कृतिक पोसाक।
सिंगापुरे फेन्सी स्टोरका सञ्चालक हुन् ३५ वर्षीय विनोद गुरूङ। पसल चलाएको १५ वर्ष भयो। व्यवस्थापनमा श्रीमती रनु गुरूङको महत्त्वपूर्ण भूमिका छ।
‘गुरूङ समुदायमा सिंगापुरे कपडा भनेपछि छुट्टै महत्त्व र अपनत्व हुन्छ। यसो हुनुको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ,’ विनोदले भने।
करिब दुई सय वर्षअघि नेपाली युवाहरूलाई गोर्खा भर्ती भनेर हङकङ, सिंगापुर, मलेसिया, ब्रुनाई, बेलायत लैजान थालिएको थियो। गोर्खा भर्तीमा जानेहरू ‘लाहुरे’ कहलिन्थे। यस्ता धेरैजसो लाहुरेहरू छुट्टीमा आउँदा घरका सदस्यहरूलाई लुगाफाटो र अन्य कोसेली ल्याउँथे। गुरूङ समुदायमा लाहुरेले हङकङ, सिंगापुर र बेलायतबाट ल्याएका लुगाको महत्त्व बढ्यो। यस्ता लुगा इज्जतदार मानिए।
‘सिंगापुरे लुंगी, सिंगापुरे खास्टो इत्यादि भन्दाभन्दै उताबाट ल्याएको लुगाको नाममा सिंगापुरे विशेषण जोडियो। सिंगापुरे भन्नेबित्तिकै दामी र इज्जतदार मानियो,’ विनोद भन्छन्।
उनका अनुसार अहिले पनि गुरूङ समुदायमा सिंगापुरे लुगाको महत्त्व छ। यही पृष्ठभूमिमा उनले आफ्नो पसलको नाम ‘सिंगापुरे फेन्सी स्टोर’ राखेका हुन्।
स्टोर सञ्चालन हुनुअघि यस ठाउँमा ‘गुरूङ मिनी मार्ट’ थियो। यो मार्ट गिफ्ट पसल थियो जो विनोदकी छ्यामा (सानीमा) ले चलाएकी थिइन्।
गोरखाका विनोद २०६२ सालमा स्कुल तहको अन्तिम परीक्षा एसएलसी दिएर काठमाडौं आए। यहाँ तिनै छ्यामासँग बस्न थाले। छ्यामालाई पसलको काम सघाउँथे। ग्राहकलाई सामान देखाउँथे।
‘करिब दुई वर्ष छ्यामालाई सघाएँ। त्यसपछि उहाँले पसलको सबै जिम्मेवारी मलाई दिनुभयो,’ विनोदले भने, ‘गिफ्ट सपमा हुने सामग्रीहरू जतन गर्नै गाह्रो हुन्थ्यो। यसको साटो गुरूङ समुदायको लुगा बिक्री गर्ने सोचेर सिंगापुरे फेन्सी स्टोर सुरू गरेँ।’
गुरूङ समुदायको मौलिकता संरक्षणमा पनि मद्दत पुग्छ भन्ने सोचेर गिफ्ट पसललाई लुगा पसलमा परिणत गरेको उनले बताए।
गुरूङ समुदायका पुरूषको पहिरनमा टोपी, भोटो, कछाड, इस्टकोट, पेटी, गलबन्दी, भांग्रा हुन्छन्। भांग्रा काँधमा झुन्ड्याइन्छ। उहिले भोटोसँग भांग्रा लगाइन्थ्यो। आजकाल धेरैले सर्ट, टि–सर्ट, पाइन्ट लगाएर माथिबाट भंग्रा लगाउँछन्। भांग्रा प्रायः सेतो रङको हुन्छ। यो विशेष संस्कार–समारोहमा लगाउने चलन छ।
भांग्रा शुभकार्य र शोक दुवै अवस्थामा लगाइन्छ तर लगाउने तरिका फरक छ। दैनिक प्रयोजन र शुभकार्यमा लगाउँदा दायाँ काँधको माथिट्टि गाँठो पारिन्छ। शोकमा गाँठो बायाँ काँधमा हुने विनोदले बताए।
भांग्राले सामान राख्ने थैलोको काम पनि गर्छ।
‘झोला प्रयोगमा आउनुअघि थैलो अर्थात् झोलाकै आवश्यकता पूरा गर्न काँधबाट गाँठो पारेर कम्मरसम्म भांग्रा बेर्ने चलन भएको हुनुपर्छ,’ उनले भने, ‘महिलाले पहिरिने घलेक पनि भांग्राकै अर्को रूप हो।’
परम्परागत भांग्रा लेकाली सिस्नोको बनाइन्छ। सिस्नोको रेसा निकालेर खरानीपानीमा पकाइन्छ। यसपछि धागो निकालिन्छ। त्यही धागोबाट भांग्रा बनाइन्छ। यसरी भांग्रा बनाउनु निकै झन्झटिलो र धेरै दिन लाग्ने काम हो। अहिले कास्कीको सिक्लेसका बासिन्दाले बनाएको भांग्रा बिक्री गरिरहेको विनोदले बताए।
परम्परागत भांग्रा सेतो र बुट्टाबिनाको हुन्छ। यो टिकाउ हुन्छ, अलिक महँगो पनि पर्छ। विनोदले सूतीको भांग्रा पनि बेच्छन् जो तुलनात्मक रूपमा सस्तो छ। सेतोबाहेक अरू रङ र विभिन्न डिजाइनमा पनि पाइन्छ।
सामान्यतया पाँच हजार रूपैयाँसम्ममा पुरूषको र चार हजार पाँच सयदेखि पाँच हजार पाँच सय रूपैयाँसम्म महिलाका लागि गुरूङ पहिरन सेट तयार हुन्छ। यसमा कपडाको कच्चापदार्थ र गुणस्तर अनुसार मूल्य फरक पर्छ। स्थानीय कच्चा पदार्थबाट बनेको र उच्च गुणस्तरको भए बढी पर्छ। त्यस्तै गहनाको मूल्य अलग्गै हुन्छ।
गुरूङ समुदायका महिलाले मखमलको चोलो, घलेक, मुगिया, (लुंगी), क्रमु (पछ्यौरा), पटुका, टिकिस (तीनकुने बनाएर कम्मरमा बेर्ने) र गरगहना लगायत दर्जन बढी लुगा र गहना लगाउँछन्।
यीमध्ये घलेक, कानको झुम्का र घाँटीको भिरू (माला) विशेष मानिन्छन्। नौगेडी, कण्ठमाला, जन्तर, हरियो पोते, काँक्रेबियाँ औंठी, चुरा पनि लगाउने चलन छ। धेरै जसो गहना सुनको हुन्छ।
नेपालको पश्चिमी क्षेत्र गुरूङ समुदायको उद्गमस्थल मानिन्छ। घान्द्रुक, घले गाउँ, सिक्लेस, ताङतिङ, भुजुङ लगायत गाउँ गुरूङ गाउँकै रूपमा चिनिन्छन्। पूर्वी नेपालमा पनि गुरूङ समुदायको बसोबास छ। गुरूङ समुदायमा तमु ल्होसारमा परम्परागत पहिरन बढी प्रयोग हुन्छ।
तमु ल्होसार पुस १५ गते मनाइन्छ। यो दिन गुरूङ समुदायको नयाँ वर्षारम्भ पनि हो। यस दिन यो समुदायमा आफ्नो सांस्कृतिक पहिरन लगाएर आपसमा शुभकामना आदान–प्रदान गर्ने चलन छ। हरेक वर्ष काठमाडौंको टुँडिखेलमा पनि तमु ल्होसार पर्व मनाइन्छ। विनोदका अनुसार गुरूङ समुदायको ‘राजधानी सेवा समिति, गोर्खा’ ले टुँडिखेलमा तमु ल्होसार महोत्सव गर्न थालेको हो।
टुँडिखेलमा ल्होसार मनाउने चलन व्यापक हुँदै जाँदा गुरूङ समुदायको मौलिक पोसाकको माग पनि बढ्दै गएको छ। बिहे, ब्रतबन्धमा पनि मौलिक संस्कृतिको लुगा लगाउने चलन छ। गुरूङ समुदायमा उपहारमा र सम्मानमा पनि पुरूषलाई फेटा र महिलालाई क्रमु दिने चलन छ।
‘पहिलेको तुलनामा अहिले ल्होसार मनाउन समूहमा भेला हुनेको संख्या बढ्दो छ। अन्य विशेष अवसरमा पनि सांस्कृतिक पोसाक लगाउने चलन छ,’ विनोदले भने, ‘सांस्कृतिक पोसाकको प्रयोग बढ्नुको अर्थ बजारमा माग बढ्नु हो। केही वर्षयता मौलिक सांस्कृतिक पोसाकको माग बढेको छ।’
सिंगापुरे फेन्सी स्टोरमा देशभरिका ग्राहक पुग्छन्। विदेशमा रहेका गुरूङ समुदायका नेपालीले पनि मगाउँछन्। सिंगापुर, हङकङ, अस्ट्रेलिया, बेलायत, अमेरिका लगायत मुलुकबाट पनि अर्डर आउने गरेको छ।
विशेष समारोह वा चाडपर्व नहुँदा पनि सिंगापुरे फेन्सी स्टोरबाट दैनिक दस सेट गुरूङ पोसाक बिक्री हुने गरेको छ। विशेष अवसरमा माग बढ्छ। अर्डर दिएको बढीमा तीन दिनमा लुगा तयार हुन्छ। आकस्मिक अवस्थामा एक दिनमै पनि तयार गरिदिन्छन्। दोहोर्याएर पुग्ने ग्राहक धेरै छन्।
ग्राहकमध्ये ८० प्रतिशतभन्दा बढी महिला हुने गरेको विनोदको भनाइ छ। बालबालिकाका लागि पनि सांस्कृतिक पोसाकको चलन बढ्दो छ।
‘महिला ग्राहक बढी हुनुको पनि खास कारण छ,’ विनोदले भने, ‘महिलाले मौलिक पहिरन लगाउँदा सेट नै लगाउँछन्। पुरूषहरू अन्य लुगामाथि भांग्रा र टोपी मात्रै पनि लगाउँछन्।’
उनी महिलाहरूका आधुनिक डिजाइनका लुगा पनि तयार गर्छन्। परम्परागत पोसाकमा पनि ग्राहकको रोजाइअनुसार नयाँ डिजाइन दिन्छन्।
‘लुगाको डिजाइन फेरिइरहेको छ। यसलाई सकारात्मक र नकारात्मक दुवै तरिकाले लिन सकिन्छ,’ उनी भन्छन्, ‘डिजाइन केही फरक पारेर नयाँ पुस्ताले प्रयोग गर्नु सकारात्मक पक्ष हो। नयाँ डिजाइनले परम्परागत शैली र मौलिकता फरक पर्नुलाई नराकात्मक मान्न सकिन्छ।’
परम्परागत लुगामा नयाँ डिजाइन बनाउँदा मौलिक पहिरनमा असर पर्न सक्छ भन्ने विनोदलाई लाग्छ। उनको विचारमा गुणस्तर बढाउँदै जानु आवश्यक छ तर नयाँ डिजाइन भनेर मौलिकता बिगार्नु उचित हुँदैन।
मौलिक पोसाकमा रङको पनि विशेष महत्व छ। गुरूङ समुदायमा प्रायः सेतो, कलेजी, कालो, हरियो र नीलो रङको लुगा चल्तीमा छ। रङअनुसार विचारशीलता हुन्छ भन्ने मान्यता छ।
महिलाको घलेक कलेजी रङको हुन्छ। यो रङ गर्भस्थ बच्चाका लागि हो भन्ने विश्वास छ। फरिया, चोलो र टिकिस प्रायः कालो हुन्छ। यो माटोको रङ हो भन्ने मानिन्छ। पटुका नीलो हुन्छ, यसले आकाश जनाउँछ। गुरूङ समुदायमा आकाशलाई बाबु र धर्तीलाई आमाको रूपमा मान्ने चलन छ। पुरूषको लुगा प्रायः सेतो हुन्छ। सेतो शान्ति र शीतलताको प्रतीक हो।
विनोद स्थानीय बजारमा पाइने कच्चा सामग्रीबाट कपडा बनाउँछन्। यसले मात्रै पुग्दैन, भारत र चीनबाट पनि मगाउँछन्। हाल सिंगापुरे फेन्सी स्टोरमा आठ जना कर्मचारी छन्। लुगा बनाउने आफ्नै कारखाना छ। कारखानामा ३० जना कर्मचारी छन्।
‘गुरूङ समुदायको पहिचानका लागि केही भूमिका निर्वाह गरेको छु,’ विनोदले भने, ‘थोरै भए पनि रोजगारीको अवसर समेत सिर्जना गर्न सकेको छु।’
आधुनिक डिजाइनले मौलिक सांस्कृतिक पोसाकमा असर परेको छ भन्ने विनोदलाई लागेको छ।
‘समुदायको संस्कृति नबुझी व्यावसायिक सोचले मात्रै काम गर्दा मौलिक पहिचान संकटमा पर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘मौलिक पहिचान र संस्कृति झल्काउने लुगा बनाउने व्यवसाय बढ्नु भने सकारात्मक हो।’
विनोद अन्य जातिका मौलिक सांस्कृतिक पोसाक पनि प्रर्वद्धन गर्न चाहन्छन्।
‘पोसाकको मौलिक पहिचान मेटिनु हुँदैन,’ विनोदले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
Source: Setopati