कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी
![](https://ekharipati.com/wp-content/uploads/2023/07/345711176_577255047589038_8261411358636095543_n16842338801689656283-1024x539.jpg)
नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन बुझाउने भएको छ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू हुनुअगाडि रूपान्तरण अभियानले प्रतिवेदन बुझाउन लागेको हो।
दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ।
त्यसअघि रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी गरेको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
‘प्रतिवेदन बुझाउन सभापतिसँग समय माग गरेका छौं, समयमै कार्यालय आइपुग्नुभयो भने सभापतिलाई नै सुझावसहित प्रतिवेदन बुझाउँछौं,’ उनले भने। रूपान्तरण अभियानले एक सातादेखि सभापति देउवाको समय माग गरिरहेको थियो।
सभापति समयमै कार्यालय नआएमा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई प्रतिवेदन बुझाइने शाहीको भनाइ छ।
नेता रञ्जित कर्णका अनुसार सातै प्रदेशमा भएका रूपान्तरण अभियानका भेलामा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारिएको छ। ‘२१ पेजको प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने।
गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेका थिए। त्यसपछि प्राध्यापक, तरूण लगायतसँग काठमाडौंमा रूपान्तरण अभियानले भेला गरेको थियो।
पार्टीका तल्लो तहका नेता तथा कार्यकर्ता र जनतासँग गरिएको कुराकानीबाट प्राप्त सुझाव पार्टीले स्वीकार गरेर नगए रूपान्तरण अभियानले जिल्ला-जिल्लामा भेला गर्ने र विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।
केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसीलगायतले कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरेका हुन्।
पार्टीको कार्यशैलीमा सुधार आउनुपर्ने र पार्टीलाई जनमुखी बनाउनुपर्ने माग उनीहरूको छ।
रूपान्तरण अभियानलाई कांग्रेस संस्थापन पक्षले भने रूचाएको छैन।
१५ औं महाधिवेशन तयारीका लागि नेतृत्वको आलोचना गर्न केहीले प्रदेश भेलाहरू गरेको र त्यसलाई रूपान्तरण अभियान भनिएकोमा संस्थापन पक्षले विरोधसमेत गर्दै आएको छ।
Source: Setopati