भ्रष्टाचारका फाइल खोल्न सरकारलाई रास्वपाबाट प्रेरणा मिलेको हो: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकारलाई आफ्नो पार्टीबाट प्रेरणा लिएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले रास्वपाले भ्रष्टाचारविरूद्धको आवाजलाई बुलन्द पारेको र सरकारले त्यसैबाट प्रेरणा लिएर पुराना फाइल खोलेको बताएका हुन्।
‘मैले सरकारको काम कारबाहीलाई पनि भनेको छु, जसरी भ्रष्टाचारविरूद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो। सम्भवतः यो आगमनले कहीँ न कहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ उनले भने।
पुराना दलले २०८४ साललाई सम्झेर पनि भ्रष्टाचारका फाइल खोलेको उनको भनाइ छ। यसलाई आफूले राम्रो संकेतको रूपमा लिएको उनले बताए।
‘अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के? भन्ने लागेकै हुनुपर्छ।यसमा हामी खुशी छौं,’ उनले भने, ‘सरकारले आउने निर्वाचनसम्ममा भ्रष्टाचारबारे धेरै सरसफाइ गर्न भ्याएछ भने हाम्रो काम पनि सजिलै हुनेछ।’
रास्वपाको उपस्थितिले राजनीतिक दलहरू चलायमान उनको दाबी छ।
‘हाम्रो उपस्थितिले मात्रै पनि सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ। यो आफैंमा एउटा राम्रो संकेत हो,’ उनले भने।
त्यसैगरी उनले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्न आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको पनि बताए।
Source: Setopati