एमालेले कोशीका उपसभामुखलाई राजीनामा गर्न लगाउँदैन: हिक्मत कार्की

सरकार गठनका लागि चाहिने बहुमत पुर्याउन सभामुखलाई सत्ता पक्षले राजीनामा गराउने तयारी गरेपछि नेकपा एमालेले पनि उपसभामुखको राजीनामा गराउने अनुमान कोशी प्रदेशमा व्याप्त थियो।
यद्यपि नेकपा एमालेले आफूबाट ‘मर्यादाहीन काम नहुने’ स्पष्ट पारेको छ। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उपसभामुखको राजीनामा नआउने बताए।
‘सत्ता पक्षले संख्या पुर्याउनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित भएन,’ उनले भने, ‘हामी उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं।’
आफूहरूले कांग्रेससँग मिलेर सरकार बनाउन प्रस्ताव गरेको कार्कीले बताए।
‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ,’ उनले भने, ‘एमाले र कांग्रेस मिलेर निकास दिनुपर्छ भन्ने आफूहरूको प्रस्ताव रहे पनि तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन।’
उनले केही समयपछि सच्चिएर कांग्रेस एमाले सँगसँगै अघि बढ्ने अवस्था बन्ने दावी गरे।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
Source: Setopati