माओवादीमा ‘प्रचण्ड’ को खोजी
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो बैठक समापन गर्दै आइतबार पार्टी महासचिव देव गुरूङले भने — श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड!
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा रहेका झन्डै ७५० जना सहभागीले नारा लगाए — लालसलाम, लालसलाम!
समापनको दिन नाराबाजीमा झुल्किएका ‘प्रचण्ड’ बैठक अवधिभर भने हराएका थिए। कार्यकर्ताले ‘पुरानो प्रचण्ड’ को खोजी गरिरहे।
माओवादी अध्यक्ष झन्डै दुई दशक अघिदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ का रूपमा चिनिन थालेका हुन्। यसपालिको बैठकमा भने उनलाई यही नामसँग जोडेर प्रश्न गरियो।
बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले उनलाई प्रचण्ड र पुष्पकमलमध्ये कता जाने भनेर प्रश्न गरे।
प्रश्नकर्ताहरूले आफ्नो चाहना पनि राखे — हामीलाई पुरानै प्रचण्ड चाहियो!
प्रचण्ड पुष्पकमल दाहाल हुँदै छविलाल बन्ने बाटोतर्फ जाँदै गरेको टिप्पणी पनि बैठकमा भएको थियो।
केन्द्रीय सदस्य प्रकाश पाण्डेले भनेका थिए, ‘तपाईं प्रचण्डबाट पुष्पकमल दाहाल हुँदै अब छविलाल बन्ने बाटोमा हुनुहुन्छ। फेरि प्रचण्ड बन्नुस्!’
प्रचण्ड कुनै बेला भूमिगत पार्टी ‘नेकपा मशाल’ मा आवद्ध थिए। त्यो बेला उनी कमरेड विश्वासका नामले चिनिन्थे। चितवनको माडीमा २०४९ सालमा भएको नेकपा मशालको सम्मेलनले तत्कालीन महासचिव कमरेड विश्वासलाई ‘कमरेड प्रचण्ड’ बनायो।
कमरेड प्रचण्ड र विश्वास नामले चिनिनुभन्दा अगाडि विभिन्न कालखण्डमा उनी अरू विभिन्न नामले परिचित थिए।
कक्षा दसमा पढुञ्जेल उनी छविलाल दाहाल थिए। दस कक्षा पढ्दै गर्दा उनको नाम फेरिएर पुष्पकमल दाहाल भयो। २०३८ सालदेखि भूमिगत राजनीति थालेका उनी भूमिगतकालमा निर्माण र कल्याण नामले पनि चिनिन्थे।
२०६३ माघमा खुला राजनीतिमा आउँदा प्रधानमन्त्री निवास बालुवाटारमा उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नाममा प्रकट भए। त्यसयता, १७ वर्षदेखि उनी यही नामले परिचित छन्।
सम्भवतः अब उनले आफ्नो यो नाम परिवर्तन गर्ने छैनन्।
तर केन्द्रीय कमिटी बैठकमा अधिकांशको दलील र प्रश्न पुष्पकमल र प्रचण्डकै बीचमा थियो।
केन्द्रीय सदस्यहरूले भनेका ती प्रचण्ड के हुन्? यी पुष्पकमल दाहाल के हुन्? कार्यकर्ताले चाहेको प्रचण्ड कस्ता हुन्?
यसबारे हामीले बैठकमा ‘प्रचण्ड’ र ‘प्रचण्ड-पथ’ चाहियो भनेर माग गर्ने तिनै नेताहरूलाई सोधेका छौं।
बागमती प्रदेशका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य सरल सहयात्री पौडेलले आफूले ठ्याक्कै यस्तै भन्दा पनि विम्बात्मक रूपमा त्यो माग गरेको बताए।
‘पहिलो कुरा त यो विम्बका रूपमा प्रयोग गरिएको हो,’ पौडेलले सेतोपाटीसँग भने, ‘दोस्रो कुरा, प्रचण्ड भनेको कुनै नाम विशेषभन्दा पनि विचार निर्माणको अभियन्ता हो।’
हामीले उनलाई सोध्यौं — कस्तो विम्ब?
पौडेलले जवाफमा भने, ‘परिवर्तनको एजेन्डा अद्यावधिक गर्दै जाने, विचारअनुरूपको विधि निर्माण गर्ने, विधिप्रति प्रतिबद्ध रहने, विधिका आधारमा चल्ने, भावनाका आधारमा नचल्ने, कोही रून-कराउन आउनेबित्तिकै विधि भत्काएर पद नबाँड्ने खालको नेतृत्व हामीलाई चाहिएको हो। यही नै पुरानो प्रचण्ड र प्रचण्डपथको चरित्र हो।’
प्रचण्ड, प्रचण्ड बनेको नौ वर्षपछि माओवादीले ‘प्रचण्ड-पथ’ लाई निर्देशक सिद्धान्त बनाएको थियो। २०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारत, पञ्जाबको भटिन्डामा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्ड-पथ पारित गरेको थियो।
त्यसपछि हरेक मोर्चामा उसले मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड-पथको नारा लगाउन थाल्यो। नाम र वाद दुवैमा प्रचण्ड स्थापित हुँदै गए।
प्रचण्ड-पथको मुख्यगरी दुई कार्यभार थियो — वर्गीय तथा जातीय आन्दोलनको समायोजन र दीर्घकालीन जनयुद्ध र सहरिया विद्रोहको एकीकरण।
त्यतिखेरको यो नारा सम्झिने हो भने अहिले न प्रचण्डको उपादेयता छ, न त प्रचण्ड-पथकै। यसको स्पष्टीकरण प्रचण्ड स्वयंले पनि केन्द्रीय कमिटी बैठकको समापनमा दिएका छन्।
‘हामी माओवादी र जनयुद्धकारीको पृष्ठभूमिबाट आएका मात्रै छैनौं। यिनलाई मात्रै सम्बोधन गरेर, यिनको मात्रै विचारको कुरा गरेर अब हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘तपाईं हामी सबैले अलिकति परिस्थितिमा आएको नयाँपनलाई हेक्का राखेर आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्न जरूरी छ।’
उसो त प्रचण्ड स्वयंले प्रचण्ड-पथ छोडेको निकै भइसक्यो।
२०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण भएपछि माओवादीले प्रचण्ड-पथ त्यागेको हो।
त्यसको पृष्ठभूमिमा थियो, २०६५ मंसिर ५ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा भएको भेला। सरकारमै रहेर, प्रधानमन्त्री नै भएर पनि प्रचण्ड त्यतिखेर पार्टीभित्र अल्पमतमा थिए। त्यसैले उनले हतारहतार एकता केन्द्रसँग एकीकरण गरेर पार्टीको नाम नै एकीकृत नेकपा माओवादी राखेका थिए।
प्रचण्ड-पथ स्वीकार नगर्ने नारायणकाजी श्रेष्ठ र अरूहरूको सन्देशपछि उनले दस्तावेजबाट सुटुक्क प्रचण्ड-पथ पनि हटाएका थिए।
हामीले प्रचण्ड-पथ माग गर्नेहरूलाई सोध्यौं — स्वयं प्रचण्डलाई नचाहिएको ‘पथ’ माओवादीका कार्यकर्तालाई चाहिँ किन चाहिएको?
केन्द्रीय सदस्य युवराज दुलालले भने, ‘खासगरी बैठकको माग भनेको युद्धकालीनजस्तो केन्द्रिकृत कमान्ड भएको नेतृत्व चाहियो भन्ने हो। संगठनात्मक र विधिगत रूपमा नेतृत्व उदार हुँदा पार्टी कमजोर भयो भन्ने साथीहरूको कुरा हो।’
नेतृत्व केन्द्रिकृत हुनुपर्छ र त्यो प्रचण्ड नै हुनुपर्छ भन्ने आवाज माओवादीको दोस्रो सम्मेलनले प्रचण्ड-पथ भनेर पारित गरेको दस्तावेजले नै बोलेको छ।
दोस्रो सम्मेलनबाट पारित दस्तावेजमा उल्लेख छ — पार्टी एकतादेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री कमरेड प्रचण्डको सही र अविछिन्न नेतृत्वका कारण आज पार्टी एकताको केन्द्रबिन्दुका रूपमा कमरेड प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टर भएको छ। अतः सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रूपमा विकसित विचार शृंखलालाई पार्टी प्रचण्ड-पथ नामाकरण गर्दछ।
प्रचण्डको यही बलियो हेडक्वार्टरको परिकल्पना ‘पार्टी रूपान्तरण हुनुपर्छ र युवाहरू अघि आउनुपर्छ’ भन्ने नेताहरूले नै यसपालिको बैठकमा पनि गरे। उनीहरूले नेतृत्वमा प्रचण्डको विकल्प देखेनन्।
एकातिर नेतृत्वको रूपान्तरण हुन सकेन र युवा पंक्ति अगाडि आउनुपर्छ भन्ने र अर्कातिर प्रचण्ड नभइ हुँदैन भन्ने परस्पर विरोधी कुरा बैठकमा प्रचण्ड खोज्ने नेताहरूले यसपालि पनि उठाएका हुन्।
२०७८ पुसमा भएको माओवादी केन्द्रको महाधिवेशनमा पनि यो कुरा जोडतोडले उठेको थियो। अब पार्टीमा प्रचण्ड-पथ चाहिन्छ भनेर लोकतन्त्र र समाजवादको बाटोमा हिँड्यौं भन्ने जनार्दन शर्माले पनि यही माग गरेका थिए। महाधिवेशनको गीतमा आन्दोलन र जनजीविकाभन्दा धेरै प्रचण्डको भक्तिभाव थियो।
यसपालि त्यो दोहोरिएको हो, जोडतोडका साथ।
‘माओवादी कथाको मुख्य नायक अध्यक्ष कमरेड प्रचण्ड नै हो। उहाँको ठाउँमा तत्काल कोही राखे पनि अध्यक्षको भाव आउँदैन,’ केन्द्रीय सदस्य रञ्जित तामाङले भनेका थिए, ‘अध्यक्षलाई साथ दिने सहायक नायक/नायिकाहरू पनि हुनुहुन्छ। यसै सहायक, उसै सहायक! सबै मुख्य नायकले गरिहाल्नुहुन्छ भनेर कथाले मागेभन्दा कम अभिनय गरिरहेका सहनायकहरूलाई अर्को सहनायक ल्याएर कथामा एक्सन थप्छु भन्ने लाग्दा कथा संयोगान्त नभएर अर्कै मोड लिने कुरा हेक्का राखियोस्।’
तामाङको भनाइको मुख्य आसय नेतृत्वमा प्रचण्डको विकल्प छैन भन्ने नै हो।
तर नेतृत्वमा बसेर अध्यक्ष प्रचण्डले जे जस्तो भूमिका खेलेका छन्, त्यसमा कार्यकर्ताको चित्त दुखाइ देखिन्छ।
एकातिर प्रचण्डको विकल्पबारे कल्पनासम्म पनि गर्न नसक्ने र अर्कातिर प्रचण्डको कार्यशैलीप्रति विरोध गर्ने कार्यकर्ताहरूको बैठकभरिको मनोविज्ञान हेर्दा उनलाई एकपटक सुध्रिने मौका दिन खोजेझैं देखिन्थ्यो।
प्रचण्डमा देखिएको परिवारवाद, जसलाई पनि जे पनि दिन्छु भन्ने प्रवृत्ति तर अन्धाधुन्ध गर्ने निर्णय कार्यकर्तालाई चित्त नबुझेको देखियो।
त्यसैले केन्द्रीय सदस्य सुमन देवकोटाले बैठकमा भने, ‘हामी भावुक होइन, कठोर प्रचण्ड चाहन्छौं।’
अरू पार्टीमा जस्तै माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको आवाज उठिरहेको पृष्ठभूमिमा केन्द्रीय कमिटीको यो बैठक सुरू भएको थियो। केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी, जनवर्गीय संगठन र प्रदेशका पदाधिकारी गरेर सात सयभन्दा बढी प्रतिनिधि सहभागी भएको बैठक सुरू हुँदा धेरैको आकलन थियो — प्रचण्डबाट अब पार्टी चलेन भन्ने आवाज माओवादीभित्र प्रखर रूपमा उठ्छ।
उनीहरू आवश्यक परे प्रचण्डको विकल्प नै खोज्ने सिलसिलाको सुरूआत यही बैठकबाट हुनुपर्छ भन्न आएका थिए।
तर दुई दिनसम्म आफ्ना कमरेडहरूको एकैखाले आत्मलाप सुनेपछि तेस्रो दिनदेखि धेरैले बोल्न भनेर टिपाएको नाम पनि फिर्ता लिए।
यदाकदा प्रचण्डको विकल्पको विषय नउठेको भने होइन। केन्द्रीय सदस्य गोपाल शर्माले प्रचण्डकै नेतृत्वमा बनेको संगठन प्रचण्डकै नेतृत्वमा विघटन हुने ठाउँमा पुगेको बताएका थिए।
‘२३८ सांसद चुन्ने भीमकाय पार्टी पनि तपाईंकै नेतृत्वमा बनेको हो। ३२ सिटमा पनि तपाईंले नै खुम्च्याउनुभएको हो,’ शर्माले भनेका थिए, ‘पार्टीलाई नेतृत्व दिने अरू पनि छन्। अब तपाईंले छोड्नुपर्छ।’
तर त्यो जम्बो केन्द्रीय कमिटी बैठकमा यो आवाज निकै मसिनो र झिनो भयो। प्रचण्डको विचलनबारे जति नै आवाज उठाए पनि केन्द्रीय सदस्यहरूले यो बैठकमा उनको एकाधिकार र अविछिन्न नेतृत्वको धोकोलाई अनुमोदन गरिदिएका छन्।
माओवादीले अबको तीन महिना विशेष अभियान, त्यसपछि विधान सम्मेलन अनि विशेष महाधिवेशनको कार्यतालिका ल्याए पनि अझै एक दशक प्रचण्डको विकल्प ल्याउन सक्दैन भन्ने स्पष्ट सन्देश यो बैठकबाट गएको छ।
उदाहरणका लागि, केन्द्रीय सदस्य झक्कु सुवेदीको अभिव्यक्तिलाई लिन सक्छौं।
बैठकमा सुवेदीले भनेका थिए, ‘अरूलाई भनेर हुँदैन, प्रचण्डले नबनाइ यो पार्टी बन्दैन।’
केन्द्रीय सदस्य युवराज दुलाल पनि सुवेदीको विचारसँग सहमत छन्।
‘प्रचण्डको जुन गतिशिलता छ, त्यसलाई चुनौती दिने पंक्ति पार्टीमा हुनुपर्छ। विश्वास र निर्णय क्षमता दुवै हिसाबले त्यो अहिले छैन,’ दुलालले भने, ‘प्रचण्डले उत्तराधिकारीका रूपमा लाइन लगाइदिए हुन्थ्यो भन्ने अपेक्षा हुन सक्छ। अध्यक्ष कमरेड त्यसमा पनि विश्वस्त देखिनु हुन्न।’
अब पार्टी परिवर्तन हुनुपर्छ भन्ने नेताहरू स्वयं आफैंमा पनि विश्वस्त नभएको तथ्य उजागर केन्द्रीय कमिटीको यही बैठकले गरेको छ। किनभने उनीहरूले प्रचण्डलाई फेर्नभन्दा सुधार्न चाहेको बताएका छन्। सायद त्यसैले उनीहरूले प्रचण्डमा पुष्पकमल दाहाल होइन पुरानो प्रचण्डपन खोजिरहेका हुन्।
उनीहरूकै भाषामा — ती प्रचण्ड माओवादी आन्दोलनले आफ्नो जग भन्दै आएका सीमान्तकृत वर्गप्रति स्पष्ट, उत्तरदायी र साथी बन्ने प्रचण्ड हुन्!
केन्द्रीय सदस्यहरूले यो पनि भनेका छन् — प्रचण्डको निवास गणतन्त्रका राजकुमार/राजकुमारीको अखडा भयो! कार्यकर्ता र प्रचण्डका बीचमा दुरी बढ्यो!
कार्यकर्ताले अहिले आएर यसो भने पनि व्यवहारमा प्रचण्डले बाटो बिराएको उहिल्यै हो। २०७५ सालमा उनले एमालेसँग एकता हुँदा माओवाद र २०६५ सालमा एकता केन्द्रसँग एकीकरण हुँदा प्रचण्ड-पथको भारी बिसाइसकेका थिए।
टिप्पणीकर्ताकै भाषामा भन्दा त्यसयता पुष्पकमल दाहालले नामका पछाडि प्रचण्ड बोकेर मात्र हिँडिरहेका हुन्।
सारमा त्यो पनि छोडिसकेका छन्, त्यसरी नै जसरी राजु स्याङ्तानको कविताको यो अंशले भन्छ —
भोकाहरूको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरूको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल!
Source: Setopati