प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
![](https://ekharipati.com/wp-content/uploads/2023/08/samsad1691499306-1024x648.jpg)
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए।
तर, प्रमुख प्रतिपक्षी दल एमालेले चित्त बुझाएन र सदन अवरूद्ध गर्यो।
आज एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधयेक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको जानकारी संसदसमक्ष गराउने कार्यसूची पनि रहेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोगको पदावधि थपसम्बन्धी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ
Source: Setopati