रोङमा विद्यार्थीको खातामा हरेक दिन एक रुपैयाँ बचत गर्न कार्यविधि
इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको खातामा प्रत्येक दिन एक रुपैयाँ बचत गरिदिने भएको छ। यसका लागि कार्यापालिकाले कार्यविधिसमेत पास गरेको छ।
गाउँपालिकाले एक रुपैयाँ बचत गरेपछि विद्यार्थीले पनि एक रुपैयाँ वा सोभन्दामाथि रकम बचत गर्नुपर्ने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए। गाउँपालिकाले तिहारअघि नै यो कार्यक्रम लागू गर्ने योजना बनाएको उनले बताए। रोङ गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन्। जसमा करिब दुई हजार ६ सय विद्यार्थी रहेका छन्।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति रहने कार्यविधिमा उल्लेख छ। यस्तै, विद्यालय तहमा व्यवस्थापन समितिले तोकेको शिक्षकको नेतृत्वमा सात सदस्यीय कार्यान्वयन समिति रहनेछ।
गाउँपालिकाले बनाएको कार्यविधिअनुसार प्रत्येक दिन गाउँपालिकाले विद्यार्थीको खातामा एक रुपैयाँ जम्मा गर्नेछ। विद्यार्थीले पनि उति नै बराबरको रकम विद्यालयको लेखाको कर्मचारीमार्फत जम्मा गर्नेछन्। लेखाका कर्मचारीले एकमुस्ट गाउँपालिकाको खातामा जम्मा गरेपछि गाउँपालिकाले कुनै बैंकसँगको सहकार्यमा बैंकमा जम्मा गर्नेछ।
‘यो अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत हो। विद्यार्थीले न्यूनतम दैनिक एक रुपैयाँ बचत गर्दा गाउँपालिकाले अधिकतम एक रुपैयाँ बचत गरिदिन्छ,’ उनले भने। उनका अनुसार अध्यक्षसँग विद्यार्थी कार्यक्रममा गाउँपालिकाले ६ लाख बजेट छुट्याएको छ। त्यही बजेटले नै विद्यार्थीको खातामा प्रतिविद्यार्थी एक रुपैयाँ जम्मा गर्ने अध्यक्ष स्याङ्बोले बताए।
‘यो कार्यक्रमले विद्यालयस्तरबाट नै वित्तीय साक्षरता र उद्यमशीलतको विकासमा जोड दिन्छ । यसले विद्यार्थीमा बचत संस्कारको विकास पनि गर्छ,’ उनले भने, ‘त्यति मात्र हाेइन, उच्च शिक्षाका लागि हुने आर्थिक अभावको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्छ । यो छात्रवृत्तिको विकल्प पनि बन्न सक्छ।’
यो कार्यक्रमले अबको केही वर्षमा गाउँपालिकाले छात्रवृत्तिमा बजेट छुट्याउन नपर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ। विद्यार्थीले आफ्नो बजेटले पढ्न सक्ने उनले बताए। ‘हाल छात्रवृत्तिका लागि वार्षिक १५–२० लाख बजेट खर्च भए तापनि पर्याप्त हुँदैन । सबैलाई समेट्न सकिँदैन,’ उनले भने, ‘यो कार्यक्रम सञ्चालन भएको चार–पाँच वर्षपछि छात्रवृत्तिका लागि बजेट राख्नुपर्दैन ।’
तर, एक रुपैयाँ बचत कार्यक्रममा सहभागी हुन विद्यार्थीका अभिभावक अनिवार्य अभिभावक शिक्षामा सहभागी हुनुपर्ने गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले बताइन्। ‘यसका लागि पनि अभिभावक शिक्षा कार्यक्रममा अभिभावक अनिवार्य उपस्थित हुनुपर्छ,’ उनले भनिन्, ‘अभिभावक शिक्षामा अभिभावक उपस्थित नभए यो कार्यक्रबाट विद्यार्थी वञ्चित हुन्छन्।’