स्वाद फेर्नेहरूको साँझ
ईखरीपाटी विशेष
बिर्तामोड । बिर्तामोडमा बस्दै आएका राजकुमार साह भद्रपुर रोडमा २० वर्षदेखि ठेलामा मःम चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । निजी विद्यालयमा पढ्ने छोरीको शुल्क, कोठा भाडा, औषधी उपचार खर्च गरेर ३ जनाको परिवार पालेर पनि राम्रै बचत गर्छ, उनी ।
काम गर्ने आत्माविश्वास र शरीरामा जाँगर हुने हो भने पैसा कमाउन बिदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानपर्छ भन्ने हुँदैन । वास्तवमा कामको कमी कहीँ पनि छैन, कमी छ त केवल मिहिनेतको । पहिचान गर्न सके काम र दाम दुवै यहीँ छ । जसको उदारण हो, बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरू ।
भद्रपुरोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक दुई÷तीन हजारको व्यापार गर्ने गरेको बताउँछन् । साँझपख कार्यालय सकेर धैरै कर्मचारी खाजा खान आउने गरेको उनी बताउँछन् । उनले पनि तीन जानाको परिवारको गुजारा यही ठेला व्यारलेनै धानेका छन् । दाजुले वर्षाैबाट गर्दै आएको ठेला व्यापार विगत पाँच बर्षबाट कृष्णले सम्हालेका हुन् ।
कृष्णको पसलमा छोइला खार्दै गरेका चारआलीका नवराज तिमिल्सिनाका प्रायः जसो साँझामा स्वाद फेर्नका लागि यहाँ आउँछन् । उनी यहाँ केही न न केही खाएर फर्कन्छन् । ‘साँझमा काम पनि हुँदैन अफिसबाट आएपछि एक छिन् बाहिरी माहोल पनि हेरिन मुख पनि फेरिन्छ,’ उनले भने, ‘अधिकांश मानिस फुटपाथमा केही खान आउँछन् ।’
ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने भएकाले धेरै लगानी गर्न नसक्नेका लागि यो रोजाइमा पर्ने साहले बताए ।
झापाको बिर्तामोड पछिल्लो समय तीव्र शहरीकरण भइरहेको कोशी प्रदेशको व्यपारिक केन्द्र हो । बिर्तामोडको चोकचोक, गल्ली–गल्लीदेखि डिपाटमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँहरूमा राखिएका ठेला व्यापार ले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउँछिन् । सीता कहाँ दैनिक १ सय ५० जना जतिले पानीपुरी चटपटे खान आउने बताइन् । उनी कहाँ कम्तीमा २० रुपैयाँ र बढीमा ५० रुपैयाँसम्मको खाने ग्रहक आउने गरेका छन् ।
मौसम अनुसारको ठेला व्यापार
पछिल्लो समयमा झापाका बिभिन्न ठाउँमा ठेलामा व्यापार गर्ने व्यवसायीहरूले बर्षभरि एकै किसिमको व्यापार नगरी सिजनल (मैसमी )व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
विभिन्न ठेला व्यवसायीहरूले एकै प्रकृतिको व्यापार नगरी फरक–फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन् । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरूले कहिले फलफूल , कहिले जुस तथा फलफूलमा पनी एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन् ।
धनकुटा घर भई विगत तीन वर्ष यता बिर्तामोडमा ठेलाको व्यापार गर्दे आएका सनमान तामाङले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यापारमा लागेको बताए । उनले गत वर्षबाट कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले ठेलामा सागसब्जी राखेर बिक्री गर्दै आएको बताउँछन् ।