चिया उत्पादक र श्रमका पीडा एकातिर, तारे होटलमा कार्यक्रम गर्दै बोर्ड
बिर्तामोड । नेपालमा हुने चिया उत्पादनको ९९ प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको छ । यहाँ अर्थोडक्स र सिटिसी दुवै चिया उत्पादन हुन्छ । चिया तथा कफी विकास बोर्डका कार्यक्रम पनि कोशीमा हुन गर्छ । तर, बोर्डले गर्ने हरेक कार्यक्रम कर्मकाण्डी हुन्छ । गत वर्ष बोर्डले चिया उत्पादक, उद्योगी, कृषक र श्रमिकका कुरा सुन्न बिराटनगरमा कार्यक्रम राख्यो । तर, चिया क्षेत्रका समस्या समाधानमा सिन्को भाँचेन । यो वर्ष पनि बुधबार यस्तै कार्यक्रम बिर्तामोडको तारे होटल सिद्धार्थमा राख्यो । गत वर्षजस्तै यस वर्ष पनि चिया उत्पादक, उद्योगी, कृषक र श्रमिकले आफ्ना गुनासा राखे । उनीहरूका गुनासामा बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराई मुसुमुसु हाँसे । कार्यक्रममा सहभागी मजदुर नेता गोपाल सापकोटाले ठूल होटलमा कार्यक्रम गरेर बजेट सक्न मात्र खोजिएको आरोप लगाए । उनले यो कार्यक्रम कुनै बगानमा गएर मजदुरसँग गर्दा प्रभावकारी हुने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रायलको संरक्षणमा रहेको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड २०५० जेष्ठ २० गते बोर्ड ऐन २०४९ मार्फत स्थापित भएको हो । चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि ठोस नीति निर्माण गरी देशमा भएको चिया तथा कफी उद्योगको योजनाबद्ध रूपमा विकास गर्न स्थापित बोर्ड चिया उत्पादक, उद्योगी, कृषक र श्रमिकहरूमाथि समस्या थोपरिँदा पनि टुलुटुलु हेर्न बाहेक केही गर्न सकेको छैन । अहिले कृषिमन्त्री एकीकृत समाजवादीका नेता बेदुराम भुसाल छन् । उनी बोर्डका अध्यक्षसमेत हुन् । समाजवाद ल्याउने उद्घोष गरेर हिँडेका भुसाल कृषि मन्त्री हुँदा समेत चिया उत्पादक, उद्योगी, कृषक र श्रमिककाे समस्या समाधानमा सिनको भाँच्न सकेका छैन ।