मारकाटमा उत्रिएर समाधान नखोज्न पहिचानपक्षधरलाई इश्वर पोखरेलको चेतावनी
बिर्तामोड । हिंसात्मक क्रियाकलाप किमार्थ स्वीकार गर्न नसकिने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बताएकाछन् । आज प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेले प्रक्रियाबाट टुङ्गीएको कुरालाई निकाले सामाजिक सद्भाव नबिथोल्न पहिचान पक्षधरलाई सुझाएका छन् । पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध गरेका पहिचानवादीलाई प्रक्रियाबाट टुंगिसकेको प्रदेशको नामकरणको सवालमा बितण्डा नमच्चाई चित्त नबुझे विधिसम्मत , शान्तिपूर्ण ढंगले समाधान खोज्न आग्रह गरे ।
मध्यपहाडी लोकमार्गमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको संकल्प यात्रा समापन भएको भोलिपल्ट एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पहिचानवादीप्रति खरो रुपमा प्रस्तुत भए । उनलेभने ‘संविधानसम्मत सबै कुरा राख्न पाइन्छ , विमति जनाउन पाईन्छ , विरोध गर्न पाइन्छ तर, त्योभन्दा फरक रहेर हिंसालाई प्रोत्साहन गर्ने क्रियाकलाप स्वीकार्य हुँदैन ।’
पहिचानवादीहरुले गरेको हिंसाको प्रतिहिंसाले जवाफ नदिने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले शान्तिपूर्ण रुपले जनतामाझ कुरा राख्ने बताए । पोखरेलले पहिचानवादीहरुलाई मारकाटमा उत्रिएर समाधान नखोज्न चेतावनी दिँदै मारकाटबाट समाधान किमार्थ संभव नहुने स्पष्ट पारे ।
यसअघि एमालेले पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सयोजकत्वमा वार्ता समिति गठन गरिसकेको स्मरण गराउँदै वार्ता संवाद नै अन्तिम विकल्प भएको जोड दिए । एमालेको संकल्प यात्रा कोशी प्रदेशमा प्रवेश गरेदेखि नै पहिचानवादीहरुले अवरोध गरेका थिए । शुरुदेखि नै बन्द हड्ताल गरेका पहिचानवादीहरुले धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि दुर्व्यवहारसमेत गरेका थिए ।