झापास्थित राइजिङ कृषि फर्ममा आगलागी, अन्दाजी ४० लाखभन्दा बढीको क्षति
झापा । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गएराति आगलागी भएको छ । आगलागीमा परी जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । झापा-६ स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी सञ्चालित राइजिङ कृषि फर्ममा आइतबार मध्यराति १२ बजे लागेको आगो अढाई घण्टापछि नियन्त्रणमा आएको थियो ।
शिवसताक्षी र बिर्तामोड नगरपालिकाको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको जनाइएको छ । सो कृषि फर्ममा कुखुरा पालन गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेराले बनाइएको कुखुरा फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ । कृषि बिमा समेत नभएको कुखुरा फर्ममा आगलागी हुँदा किसानहरू पीडामा छन् ।
‘मध्यरात हुँदा कुखुरा फर्ममा आगलागी भएको थाहा नै पाइन, कुखुराहरू कुराउन थालेपछि बाहिर निस्किएर हेर्दा फर्म जलिरहेको थियो, स्थानीय प्रकाश राईले भने । विद्युत् सर्ट भएर आगो नलागेको र यो घटना कसैले जानिबुझी गराएको हुन सक्ने फर्मका सञ्चालक खेम राईको दाबी छ । यद्यपि प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।