| |

डिल्लीराज माविका प्रअविरुद्ध खनिए शिक्षक, उपप्रमुखको रोहवरमा खुल्यो तालाबन्दी

झापा । झापा गाउँपालिकामा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन् । आज बिहान ११ बजे शिक्षकहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् । प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताको कोठा र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिए ।

शिक्षकहरूले विद्यालयमा बढ्दो बेथिति अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरूले विद्यालयका प्रअ गुप्ताविरुद्ध अख्तियारमा परेको मुद्दाको तत्काल छिनोफानो हुनुपर्ने माग राखेका छन् । सर्वपक्षीय र अभिभावक भेलाको माग गर्दै शिक्षकले तालाबन्दी गरेका हुन् । विद्यालयको पठनपाठनमा भने कुनै अवरोध नभएको बुझिएको छ । तालाबन्दीका क्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाम शेखको उपस्थिति रहेको थियो ।

यसैबीच झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको रोहवरमा ताला खोलिएको छ । बुधवार गाउँपालिका कार्यालयमा छलफल गर्ने गरी ताला खोलिएको जनाइएको छ । पुस १७ गते विद्यालयका संस्थापक स्व। डिल्लीराज गणेशको ३४ औं स्मृति दिवस र विद्यालयको ६० औं वार्षिकोत्सव आयोजना नगर्दा शिक्षकहरूले तालाबन्दी गरेको प्रअ गुप्ताले दाबी गरे । उनले स्मृति दिवस तथा विद्यालयको वार्षिकोत्सव विद्यार्थीहरूको वार्षिक नतिजा आएपछि मनाउने विद्यालय व्यवस्थापन समितिको निर्णय रहेको जानकारी दिए ।

Similar Posts