गाजा युद्ध रोकिँदैन : इजरायल
काठमाडौँ । इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्धको युद्ध सन् २०२४ मा पनि जारी रहने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका हुन् ।
इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । ‘सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ,’ उनले भने । उनले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको द्वन्द्व अझ बढेको दाबी गरे ।
‘हामीले हाल गाजामा सेना परिचालन र रिजर्भ प्रणालीको योजनालाई पनि अनुकूल बनाउँदै छौं, केही रिजर्भका सेना यसै साता उनीहरूको परिवार र रोजगारीमा फर्किनेछन्,’ प्रवक्ता हगारीले भने, ‘यसबाट अर्थतन्त्रको बोझलाई उल्लेखनीय रूपमा कम गर्नेछ र उनीहरूलाई अर्को वर्षमा आगामी गतिविधिहरूका लागि शक्ति जम्मा गर्न सहयोग पुग्नेछ, लडाइँ जारी रहनेछ र उनीहरूको आवश्यकता अझै हुनेछ ।’
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसंख्या विस्थापित भएको छ । घेरामा परेको गाजापट्टीमा स्थानीय २० वर्षीय हमदान अबु अरबले सन् २०२४ राम्रो हुने आशा व्यक्त गरे । ‘हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौं र आफ्नो समयको आनन्द लिन्थ्यौं तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्,’ अबु अरबले भने ।
इजरायलले गाजामा लगातार आक्रमणमा दुई दर्जन व्यक्ति मारिएको र हमासले आधा रातमा रकेट आक्रमण गरेको पनि जनाएको छ । हमासले वर्षको सुरुआत इजरायलमा रकेट आक्रमण गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । इजरायलले हमासलाई ध्वस्त पार्ने भन्दै कडा आक्रमण गर्दै आएको छ ।
यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार ८ सय २२ जना मारिएका छन् । इजरायली सेनाका अनुसार गाजाभित्र हमासविरुद्धको युद्धमा उसका १ सय ७२ सैनिक मारिएका छन् ।
युद्धको सुरुआतमा इजरायलले घेराबन्दी गरेपछि गाजावासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नु परिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य संगठनले भोक र संक्रामक रोगको चेतावनी दिएको छ ।