फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री
काठमाडौ । ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २० महिनापछि राजीनामा दिएकी थिइन् ।
त्यो अवधिभर संसद्मा बहुमत नहुँदा उनले निकै संघर्ष गर्नुपर्यो । हाल शिक्षामन्त्री रहेका याटालले सरकारमा आकर्षक नियुक्ति गर्ने विश्वास गरिएको छ । उनले अब जुनमा हुने महत्वपूर्ण युरोपेली संसदीय चुनावमा फ्रान्सेली सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउनेछन् । उनको उदय द्रुत गतिमा भएको छ । दश वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका एक सल्लाहकार र समाजवादी कार्यकर्ता मात्र थिए ।
उनी प्रधानमन्त्री कार्यालय सम्हाल्ने देशको पहिलो समलिंगी व्यक्ति पनि हुनेछन् । भाषण र बहसमा पोख्त उनको कलाले राष्ट्रपति इम्यानुअल म्याक्रोँको सजिलै ध्यानाकर्षण गरेको थियो । उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए । त्यति वेला उनी कनिष्ठ शिक्षामन्त्री बनेका थिए । सन् २०२० देखि उनी सरकारका प्रवक्ता भए । राष्ट्रपति म्याक्रोँ पुनः निर्वाचित भएपछि उनी छोटो समयका लागि बजेटमन्त्री थिए र त्यसपछि गत जुलाईमा शिक्षामन्त्रीको जिम्मेवारी पाए । उनी म्याक्रोँ सरकारको सबैभन्दा प्रशंसनीय पात्र रहेका विभिन्न मत सर्वेक्षणले देखाएका छन् ।
याटालका सामु प्रशस्त चुनौती देखिन्छन्, जसरी उनका पूर्ववर्ती एलिजाबेथ बोर्नले सामना गरिन् । तिनमा मुख्यत कट्टर दक्षिणपन्थी विपक्षी (जसको लोकप्रियता बढिरहेको छ), संसद्मा बहुमत नभएकाले नयाँ कानुन बनाउन आइपर्ने कठिनाइ र दोस्रो कार्यकालमा आफूले के हासिल गर्न चाहेको परिभाषित गर्न असमर्थ राष्ट्रपति । त्यसवाहेक पनि नयाँ प्रधानमन्त्रीका आफ्नै राजनीतिक चुनौती पनि छन् । विशेषतः गेराल्ड डार्मानिन र ब्रुनो ले माइरेजस्ता हेभिवेटहरूमाझ आफ्नो शक्ति स्थापित गर्नु उनलाई कठिन हुन सक्छ । तथापी उनी स्वयं प्रतिभाशाली र क्षमतावान् रहेको विपक्षीसमेत स्विकार्छन् । नेसनल एसेम्ब्लीमा उनलाई धेरैले रुचाउँछन् ।