सातौँ भाक्का दिवस पुस २९ !
झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ ।
पुस २९ गते लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस डोमालाल राजवंशी रंगशालामा आयोजना गरिने आयोजक राजवंशी समाज विकास समितिले जानकारी दिएको छ ।
आयोजक राजवंशी समाज विकास समितिले बुधवार पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय भाक्का दिवसको तयारीबारे जानकारी दिएको हो । राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस आयोजना गरिएको अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।
भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने तयारी छ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती उपस्थित भएर भाक्का दिवसमा उद्घाटन गर्नुहुने समितिका अध्यक्ष राजवंशीका जानकारी दिनुभयो ।भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको छ । त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा आउने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक झल्कने राजवंशी नृत्यको प्रस्तुति रहने छ । भाक्का दिवसमा ३० हजार जनाले अवलोकन गर्नेे अनुमान आयोजक समितिले गरेको छ ।