अलैँचीको भाउ ६ वर्षयताकै उच्च, प्रतिकेजी दुई हजार पुग्यो
झापा । मेची भन्सारबाट निर्यात हुने कृषिजन्य उत्पादनको पहिलो नम्बरमा पर्छ अलैँची, । चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सारबाट तीन अर्बभन्दा बढीको अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । जसबाट तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको तथ्यांक छ ।
गत आर्थिक वर्ष ०७९/८० को यही अवधिमा ३३ लाख ९२ हजार ३३१ केजी अलैँची भारत निर्यात गर्दा दुई अर्ब ७२ करोड ३६ लाख भित्रिएको थियो । मूल्यवृद्धि हुँदा गत वर्षको तुलनामा १० लाख १८ हजार किलो अलैँची कम निर्यात हुँदा पनि मूल्य करिब १४ प्रतिशत बढेको छ ।
अलैँचीको मूल्यले आठ वर्षपछि लय समाउँदै
आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । तर, गत वर्षबाट फेरि मूल्य पाउन थालेपछि यस वर्ष प्रतिमन ८० हजारसम्ममा किनबेच भएको छ । अहिले अलैँची प्रतिमन ७८ हजारमा कारोबार भएको अलैँची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले जानकारी दिए । ‘ग्रेडिङ भएर तयार भएको अलैँची ७८ हजारमा कारोबार भइरहेको छ । केही दिनअघि प्रतिमन ८१ हजारसम्म बिक्री भएको थियो,’ उनले भने, ‘७८ हजार रुपैयाँ प्रतिमनमा ग्रेडिङ गरेको अलैँची बिक्री हुँदा किसानले ७४–७५ हजार प्रतिमन मूल्य पाउँछन् ।’
गत वर्ष अलैँची सुरुवातमा २५ हजार प्रतिमनबाट बिक्री सुरु भएको थियो । सिजनको अन्तिमसम्म ५९ हजार प्रतिमन बिक्री भएको महासचिव चिमरियाले जानकारी दिए । ‘गत वर्ष २५ हजारबाट सुरु भएको अलैँचीको बिक्री ५९ हजार प्रतिमनसम्म पुगेको थियो । यो वर्ष ५९ हजार प्रतिमनबाट सुरु भएर ८० हजारसम्म पुग्यो,’ उनले भने, ‘आठ वर्षअघि प्रतिमन एक लाख २० हजारबाट घटेर २० हजार प्रतिमनसम्म आएको थियो । आठ वर्षपछि ८० हजारसम्म पुग्यो ।’
मसलाजन्य उत्पादनमा पर्ने अलैँचीको मूल्यमा उतारचढाव आइरहने उनी बताउँछन् । यस वर्ष अलैँचीको उत्पादन घटेर पनि मूल्य बढेको चिमरियाको भनाइ छ । यस वर्ष अलैँचीको उत्पादन गत वर्षको तुलनामा ४० प्रतिशत घटेको महासचिव चिमरियाले बताए । उनका अनुसानर गत वर्ष एक लाख २० हजार बोरा अर्थात् ६० लाख केजी अलैँची उत्पादन भएको थियो । हाल उत्पादनको ७० प्रतिशत अलैँची बजारमा आइसकेको अलैँची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले जानकारी दिए । ‘यस वर्ष अलैँचीको मूल्यवृद्धि हुँदा किसान र अलैँची व्यवसायीमा अत्यधिक उत्साह थपेको छ । ७० प्रतिशत अलैँची बजारमा आइसकेको छ । तर, अलैँचीको उत्पादन घटेको छ,’ उनले भने, ‘अलैँची एक साल फल्ने अर्को साल घट्ने हुन्छ । यस वर्ष खडेरी र अलैँचीमा रोगले पनि घटेको हो ।’
५१ जिल्लामा अहिले अलैँची उत्पादन हुने उनले जानकारी दिए । कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको छ । अलैँची मुख्यतः मेची भन्सार कार्यालय काँकडभिट्टाबाट मात्रै ९० प्रतिशत अलैँची भारत निकासी हुँदै आएको छ । बाँकी अलैँची पाकिस्तान र युएई पनि निर्यात हुने महासचिव चिमरियाले बताए । ‘बंगलादेशमा निर्यात हुन सके नेपाली अलैँचीले राम्रो मूल्य पाउने थियो । बंगलादेशको भन्सार शुल्क धेरै भएकाले त्यो सम्भव भएको छैन,’ उनले भने, ‘नेपाली अलैँची भारतबाट श्रीलंका हुँदै बंगलादेश नै जान्छ । त्यसो गर्दा भन्सार शुल्क लाउँदैन । नेपालबाट सीधै बंगलादेश लैजाने प्रयास पनि भएको हो । तर, अलैँचीमा भन्सार छुट माग्दा उसले नेपाल भित्रिने धेरै सामग्रीमा छुट माग्छ ।’