|

इलाममा भेटिएको बेवारिसे शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिनेको भीड

इलाम । इलाममा बेवारिसे अवस्थामा जीवित फेला परेका नवजात शिशुको टुङ्गो नलाग्दै अभिभावकत्व लिन चाहनेहरूको भीड लागेको छ । माईजोगमाई गाउँपालिका–३ स्थित गुप्तीमा ढुङ्गाको ओडारमा हिजो साँझ ५ बजे नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनि ढुङ्गाको ओडारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

माईजोगमाई ३ गिद्दे भिरको ढुङ्गाको चेपमा अन्दाजी ३–४ दिनको नवजात शिशु ९छोरा० बेवारिसे अवस्थामा स्थानीयले घाँस काटेर फर्कने क्रममा बच्चा रोएको सुनी प्रहरी चौकी नाम्सालिङमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगूले बताए । उनले  स्थानीयबासी तथा जनप्रतिनिधिहरूसँग को–कसले ,को–कसको बच्चा  ओडारमा राखेको हो भन्ने सम्बन्धमा बुझ्ने कार्य भइरहेको जानकारी दिए । 

ती बालकलाई स्थानीय पूर्णबहादुर मगरको घरमा राखिएको माईजोगमाई ३ का वडाध्यक्ष राम घिमिरेले बताए ।  उनले हिजो साँझ स्वास्थ्य जाँच गराउँदा स्वास्थ्य अवस्था ठिक रहेको तर, चिसोका कारण घाँटीमा समस्या  देखिएको जानकारी दिए । शिशुको टुङ्गो नलाग्दै अभिभावकत्व लिन चाहनेहरूको भीड लागेको वडाध्यक्ष घिमिरेले बताए । उनले ती शिशु एडप्ट गर्नका लागि आफूलाई दुई सयभन्दा बढीको फोन आइसकेको जानकारी दिए । ती शिशुको जन्म अस्पतालमै भएको देखिएको छ ।  अस्पतालले दिएको कपडा ती शिशुलाई लगाइदिएको छ । 

Similar Posts