काँकडभिट्टाबाट ‘लापसे’ जाँचको सुरुवात
झापा । काँकडभिट्टाबाट सवारी चालकमा लागू पदार्थ सेवन (लापसे) जाँच सुरु भएको छ । प्रदेश सरकारको सहयोगमा ट्राफिक प्रहरीले लापसे जाँच सुरु गरेको हो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अभियानको सुरुवनत गरे ।
यो अभियानलाई निरन्तरता दिने उनले बताए । यात्रुको जीवन सुरक्षा र सुरक्षित यात्राका लागि यो अभियान सुरु गरेको मन्त्री राईले बताए । यो अभियानले लागूऔषध नियन्त्रणमा पनि सहयोग गर्ने बताए । मन्त्री राईले लागूऔषध नियन्त्रणमा प्रदेश सरकार सचेत रहेको बताए । यो अभियान कोशी प्रदेशका तीन स्थानबाट शुक्रबारदेखि नै सुरु भएको हो । झापामा मन्त्री राईले अभियान सुरु गरे भने मुख्यमन्त्री केदार कार्कीले मोरङको रानी र नेमुवामा अभियानको शुभारम्भ गरे । यो अभियानले व्यापकता दिने र सबै सीमा नाकाका बजारमा सवारी चालकमा लापसे जाँच गर्ने उनले बताए । अभियानले यात्रुको जीवन रक्षासँगै लागूऔषध नियन्त्रणमा सहयोग पुग्ने मन्त्री राईको विश्वास छ ।
शुक्रबार अभियान सुरु गर्दै १० जनामा गरिएको लापसे जाँचमा ६ जनाले लागूऔषध सेवन गरेको पाइएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगिएको छ ।
अभियानको उद्घाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी , इलाका प्रहरी कार्यलय काँकरभिट्टा झापाको कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारती जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरिक्षक नवराज न्यौपालनेलगायतको उपस्थिति थियो ।