बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव : एमाले, माओवादी, रास्वतपा र जसपाको मोर्चाबन्दी सुरु
बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरु एकैमोर्चामा आवद्ध भएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने भएका छन् ।
आज बिर्तामोडमा आयोजित एक भेलामा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेता एवम् तिनमा आस्था राख्ने उद्योगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदलसमेत गठन गरेका छन् ।
कार्यदलमा नेकपा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ (अरुण) र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती तथा जनता समाजवादी पार्टीबाट गौरीमान राई र अभिषेक राई रहेको माइन्युट प्राप्त भएको छ ।
कार्यदलले अरु राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने जनाइएको छ ।
छलफलमा सहभागी नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य, झापा क्षेत्र नं. २ का इञ्चार्ज एवम् प्रदेशसभा सांसद एकराज कार्कीले अन्य राजनीतिक दलमा आस्था राख्ने व्यवसायीहरुसँग पनि छलफल गरी लचिलो भएर जिम्मेवारी लेनदेन गरिने बताए ।
नेपाल भेनियर उत्पादक संघका पूर्व अध्यक्षसमेत रहेका कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलसँग पनि सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिएका छन् ।
यही छलफलका कारण बिहीबार बिहान १० बजेका लागि निर्धारण गरी स्थगित भएको स्वतन्त्र व्यवसायिक प्यानलको सम्पर्क कार्यालय उद्घाटन थप ४ दिन पछाडि सारिएको छ । अब सोमबारमात्र स्वतन्त्र व्यवसायिक प्यानलको निर्वाचन सम्पर्क कार्यालय औपचारिकरुपमा उद्घाटन गरिने अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अर्जुन मैनालीले जानकारी दिएका छन् ।