झापा गाेल्डकप फागुन १९ देखि
बिर्तामोड । झापाकाे बिर्तामोडस्थित डाेमालाल राजवंशी रंगशालामा फागुन १९ देखि २८ सम्म हुने झापा गाेल्डकपकाे बिजेता पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको आयाेजकले जनाएको छ ।
मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी झापा गाेल्डकपले प्रतियाेगिताकाे पुरस्कार राशिबारे जानकारी गराएकाे हाे । बिजेताले १३ लाख र उपबिजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने गाेल्डकपका अध्यक्ष बिनाेद बस्नेतले बताए ।
काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटवल हबको रुपमा विकसित गराउन २०७२ सालदेखि प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र बिदेशी ३ गरी १० वटा टीमको सहभागिता रहनेछ ।
छैटौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । झापाबासीकै प्रतिष्ठासँग जोडिएको यस प्रतियोगितालाई शानदार ढंगले सफल बनाइने अध्यक्ष बस्नेतले बताए ।