बिर्तामोड–भद्रपुर सडक : थपिएको म्यादभित्र पनि निर्माण कार्य सम्पन्न नहुने
भद्रपुर । थपिएको म्यादभित्र समेत ठेकेदारले बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएको छ । सो सडकका लागि फागुन ६ गतेसम्म म्याद थप गरिएको हो । सडक निर्माणको ठेक्का पाएको काठमाडौँको कन्टेक प्रालिले निर्माण सम्पन्न गर्नुपर्ने म्याद गत साउन ५ सम्म रहेको थियो । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले गत साउन ५ अर्थात् ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । त्यस अवधिभित्र करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय दमकले आगामी फागुन ६ गतेसम्म म्याद थप गरेको हो ।
अहिलेसम्म करिब ३७ प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए । उनले धौला पुलदेखि देउनियाँसम्मको करिब ४ किलोमिटर सडक जसरी पनि निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिए । बल्लतल्ल धौला पुलदेखि देउनियाँसम्म सडक बने पनि देउनियाँदेखि पूर्वपट्टिको सडक खण्ड यस वर्ष निर्माण नहुने भएको छ । बजेट अभावका कारण यस वर्ष देउनियाँदेखि चन्द्रगढीसम्मको सडक खण्ड निर्माण नहुने डिभिजन इन्जिनियर पौडेलले बताए ।
निकै दबाबपछि बल्ल धौला पुलदेखि देउनियाँसम्मको सडक पूरा हुन लागेको हो । जिम्मेवारी लिएका ठेकेदारले समयमै काम पूरा नगर्दा यात्रुहरूले सास्ती बेहोरिरहेका छन् । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै निर्माण कम्पनी कन्टेक प्रालिलाई सडक डिभिजन दमकले पटक पटक स्पष्टीकरण सोधेको थियो । त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सडक निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस सडकमा अबको १५ दिनपछि कालोपत्रेको काम सुरु गरिने जनाइएको छ ।