भद्रपुरमा चोरी बढ्नुको सात कारण ? दोषी को ?
दीपक अधिकारी
भद्रपुर । पछिल्लो समय झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्र लगायत छिमेकी गाउँपालिकाहरूमा चोरीको बिगबिगी बढेको छ । सामान्य जुत्ता–चप्पलदेखि कोदालो, धान, ट्रस पाइप, रड, टेलिफोनको तार, पानीको कल, साइकल, मोटरसाइकल, मोबाइल, सुन–चाँदी, नगदलगायत पसल फोडेर, घर फाँडेर, कार्यालय फोडेर चोरी नभएको दिन छैन । अझ एकै दिन दर्जनौँ ठाउँमा चोरी भइरहेको छ ।
प्रहरी पनि चोरी नियन्त्रणमा दिनरात नभनी मोटरसाइकल, गाडी र साधा पोसाकमा गस्ती गरिरहेको छ । प्रहरीले प्रमाण सहित पक्राउ परेकालाई कानुनी कारबाही पनि गरिरहेको छ तर फेरि पनि चोरी रोकिएको छैन । चोरी नरोकिनुको कारण के हो त ? चोरी भयो भन्दा पनि पहिला चोरी हुनुको कारण पत्ता लगाउनु जरुरी हुन्छ । कारण पत्ता लागेपछि निराकरण गर्न सजिलो हुन्छ ।
पहिलो कारण– लागु औषध
चोरीको मुख्य कारण लागु औषधको सेवन हो । खुल्ला सिमानाका कारण नेपाल–इन्डिया आउजाउमा सहजता छ । त्यही सहजताको फाइदा उठाउँदै नेपालीहरू इन्डियाबाट लागु औषध ल्याउने र सेवन गर्ने तथा व्यापार गर्ने गर्छन् । लागु औषधमा लतमा परेकाहरूसँग लागु औषध किन्ने पैसा नभएपछि जे भेट्यो त्यही चोरी गर्ने गरेका छन् ।
दोस्रो कारण– दलका ठुटे नेता
चोरी बढ्नुको अर्को कारण राजनीतिक दलका ठुटे नेता तथा जनप्रतिनिधि पनि हुन् । सम्भावित तथा प्रमाण सहित कुनै चोरलाई प्रहरीले पक्रेर सोधपुछ गर्न खोज्यो भने जनप्रतिनिधि तथा राजनीतिक दलका ठुटे नेता चोरलाई छाड्न प्रहरीलाई दबाब दिन थाल्छन् । जसका कारण चोरको मनोबल बढेको छ चोरी गर्न प्रोत्साहन मिलेको छ ।
तेस्रो कारण– सामान चोरी भएका व्यक्ति
भद्रपुरमा चोरी बढ्नुको अर्को कारण जसको सामान चोरी भएको त्यही व्यक्ति पनि हो । किनभने सामान चोरी भयो भनेर प्रहरीमा उजुरी गर्छन् । प्रहरीले सामान सहित चोर पक्राउ गर्छ । आप्mनो सामान भेटेपछि चोरलाई कानुनी कारबाही गर्न अगाडी बढ्दैनन् । चोरी गर्ने पक्राउ परे सामान फिर्ता गर्ने पक्राउ नपरे झन् ढुक्क । जसका कारण चोरलाई चोरी गर्न झन् प्रेरणा मिलेको छ ।
चौथो कारण– कानुनी प्रावधान
चोरी बढ्नुमा कानुनी प्रावधान पनि दोषी देखिन्छ । चोर पक्राउ परेपछि मुद्दा चलाएर कारबाही अगाडी बढाउनु प¥यो भने अदालतको फैसला नहुञ्जेल चोरलाई ज्वाइँ पाले झैँ सामान चोरी भएको व्यक्तिले खाना खुवाएर पाल्नुपर्छ । फेरि मुद्दाको फैसला नहुञ्जेल चोरी भएको सामान पनि जिम्मा लगाउनु पर्छ, र समय पनि खर्च गर्नुपर्छ । यस्तै झन्झटिलो कानुनी प्रावधानका कारण सामान चोरी हुनेले चोर पक्रँदा पनि मुद्दा चलाउन मान्दैनन् ।
पाँचौँ कारण– हामी समाजका मानिस
चोरी बढ्नुमा समाजका हामी आम नागरिक पनि त्यतिकै दोषी छौ । हाम्रो निष्क्रियता, अल्छीपना, बेवास्ता र लापरवाहका कारण पनि चोरी बढेको हो । नेपालीमा एउटा भनाई छ नि ! ‘थैली दरो गरो गरी बाँध्नु, साथीलाई चोर दोष नलगाउनु ।’
चोरले चोरेको अधिकांश सामान हामीबीचमै बिक्री गरिरहेको हुन्छ । चोरले चोरेको ६ हजार पर्ने साइकल १ हजारमा, १० हजार पर्ने मोबाइल २ हजारमा बिक्री गरिरहेको हुन्छ । त्यस समय हामी प्रहरीलाई खबर गर्दैनौँ । उल्टो सस्तोमा भेटियो भनेर साटाक-सुटुक खरिद गर्छौ । अर्को हामी आप्mना सामानको सुरक्षा पनि गर्दैनौँ । मोटरसाइकल जहाँ पायो त्यही ह्यान्डल लक नगरी राख्छौँ । एक छिन त हो नि, के पो हुन्छ र भनेर साइकलको चाबी नलगाई राख्छौँ । सुत्दा मोबाइल कोठाको झ्यालपट्टि राख्छौँ । घरमा ढोका खुल्ला राखेर सारा संसार भुलेर मोबाइलमा घोप्टिन्छौँ । जसका कारण चोरलाई चोरी गर्न सहज हुने गरेको छ ।
छैटौँ कारण– प्रहरी प्रशासन
चोरी बढ्नुमा प्रहरी प्रशासनको पनि कमीकमजोरी देखिन्छ । नियम कानुनको परिपालना गर्नु भन्दा नेता तथा जनप्रतिनिधिको कुरामा लागेर पक्राउ परेका चोरलाई छाडिनु । चोरी भएपछि देखाउने सक्रियता चोरी हुनुभन्दा अगाडी नदेखाउनु । रातको समयमा गरिने गाडी गस्ती तथा मोटरसाइकलमा गस्ती सधैँ एउटै ठाउँमा बस्नु । कार्यालय प्रमुखसँगै साधा पोसाकका प्रहरी परिवर्तन हुनु । साधा पोसाकका प्रहरीलाई अपराध अनुसन्धानमा भन्दा अन्य काममा प्रयोग गर्नु लगायतका प्रहरी प्रशासनको कमजोरीका कारण पनि चोरी बढेको हो ।
सातौँ कारण– स्थानीय पालिका
चोरी बढ्नुमा स्थानीय पालिकाको पनि लापरबाही र गैर जिम्मेवारी देखिन्छ । नेपालमै नेपाली आमा–बुवाबाट जन्मेर पनि नेपाली हुन लिइने नेपाली नागरिकतादेखि निवेदनको समेत ‘कर’ लिने स्थानीय पालिका आफ्नो पालिकावासीको जनधनको सुरक्षामा गैर जिम्मेवार देखिन्छ । सडक बत्तीहरू नियमित छैनन् । जसका कारण चोरलाई चोरी गर्न सहज भएको छ । केही चोकमा सिसी क्यामरा जडान गरेपनि समयमा मर्मत सम्भार नहुँदा चोरलाई निर्धक्क भएको छ । जडान भएका सिसी क्यामरा पनि गुणस्तरयुक्त नहुँदा नाम मात्रको भएको छ । चोरी नियन्त्रण गर्न एक–अर्कालाई दोष दिएर पन्छिने भन्दा पनि समाजका सबै पक्ष एक मत भएर सकारात्मक सोचका साथ लागि पर्ने हो भने चोरी नियन्त्रण असम्भव भने होइन ।