माओवादी केन्द्रको विधान अधिवेशन : आज सात समूहले सुझाव पेस गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम विभिन्न २० समूहमध्ये १३ समूहबाट सुझाव प्रस्तुत भएको छ ।
सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिनुभयाे । उहाँले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानु पर्नेमा जोड दिनुभयाे ।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनु पर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनु पर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनु पर्ने बताउनुभयाे । उहाँले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गर्नुभयाे ।
युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताउनुभयाे । उहाँले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गर्नुभयाे ।
मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा शुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । आज सात समूहले सुझाव पेस गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्नेछ ।