फागुन १७ देखि बिर्तामोडमा सडक फुड फेस्टीवल
बिर्तामोड । हाेटल व्यवसायी संघले फागुन १७ गतेदेखि झापाको बिर्तामोडमा सडक फुड फेस्टीवल आयोजना गर्ने भएको छ ।
संघले तेस्रोपटक महाेत्सव आयाेजना गर्न लागेको हो ।संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन १७ देखि चैत ७ गतेसम्म फेस्टीवल गर्न लागिएको जनाएको छ ।
संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले बिर्तामोड-३ स्थित मेची आँखा अस्पतालसँग जाेडिएकाे खाली जग्गामा फुड फेस्टीवल आयाेजना गरिएको बताइन् ।
मेची आँखा अस्पतालमा उत्तरपूर्वी भारतका बिरामीसमेत आँखाजाँच र उपचारका लागि आउने गरेका छन् । उनीहरूको समेत सुविधाजनक सहभागिता रहने गरी फेस्टीवल आयोजना गरिएको हो ।
गाेर्खा ब्रुअरीले फेस्टीवलकाे मुख्य प्रायोजन गरेको छ । फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहनेछ ।
स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको समेत प्रचारप्रसार हुने गरी फेस्टीवल आयोजना गरिएको महासचिव शिवराज पाैडेलले बताए । आर्थिक मन्दिरका कारण व्यापार व्यवसाय संकटमा परिरहेका बेला व्यवसायीलाई राहत दिने गरी फेस्टीवल आयोजना गरिएको हो ।
फेस्टीवलमार्फत स्थानीय अर्गानिक कृषि उत्पादनलाई अधिकतम् रुपमा खपत गर्ने उद्देश्य पनि राखिएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज प्रालिले सह प्रायोजन गरेको कार्यक्रम नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
फेस्टीभलमा सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती फेस्टीवलकाे उद्घाटन गर्ने कार्यक्रम छ ।