राष्ट्रिय सभा अध्यक्षका लागि एक–अर्कामाथि दबाब बनाउँदै माओवादी र कांग्रेस
काठमाडाैं । गठबन्धन बनाएर निर्वाचनमा लडेका प्रमुख दुई दल माओवादी र कांग्रेस राष्ट्रिय सभा अध्यक्षका लागि एक–अर्कामाथि दबाब बनाउने रणनीतिमा उत्रिएका छन् । अध्यक्षको दाबीलाई लिएर राष्ट्रिय सभाको पहिलो दल माओवादी र दोस्रो दल कांग्रेसबीच मतभेद देखिएको छ । गठबन्धनभित्र सहमति नभई माओवादीले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय लिएपछि कांग्रेस झस्किएको छ । यद्यपि, दुवै पार्टीले राष्ट्रिय सभा अध्यक्ष कसले पाउने भन्नेबारे गठबन्धनमा छलफल हुने बताएका छन् ।
गत १२ माघमा निर्वाचनपूर्व कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने समझदारी शीर्ष नेताहरूबीच भएको विवरण सार्वजनिक भएको थियो । तर, बुधबार बसेको माओवादी स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको छ । राष्ट्रिय सभामा माओवादी पहिलो दल छ । नयाँ पत्रिकामा खबर छ ।