कचनकवल गाउँपालिकामा आज शोक बिदा, गाउँसभा पनि स्थगन
झापा । कचनकवल गाउँपालिकाले आज बुधबार शोक बिदा दिएको छ । कचनकवल गाउँपालिका पशुपन्छी तथा मत्स्य विकास शाखामा कार्यरत कर्मचारी कचनकवल-३ निवासी २२ वर्षीय भवानीशंकर खतिवडा रोशनको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाले गाउँपालिकाले शोक बिदा दिएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै आज अति आवश्यकबाहेक गाउँपालिकासहित सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ । साथै दोस्रो गाउँ सभा तथा चौथो अधिवेशन अर्को सूचना नआएसम्मका लागि पनि स्थगन गरिएको छ। आइतबार दिउँसो ४ः४५ बजेको समयमा हल्दिबारी ४ स्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते रोशनको उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।