हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता
काठमाडाैं । चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यसको जानकारी गराएका छन् ।
इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा २० असोजमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा इन्टर्न गरिरहेका १० नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेका कञ्चनपुरका जोशी अझै बेपत्ता छन् । उनलाई बन्धक बनाइएको बताइएको छ । पटक–पटकको प्रयासमा पनि उनको रिहाइ हुन सकेको छैन ।
राजदूत गोडरका अनुसार मारिएका विद्यार्थीका बुबा–आमालाई इजरायल सरकारले आजीवन भत्ताको व्यवस्था गरेको छ । त्यस्तै, हमासको बन्धक रहेका जोशीसहित एक सय ३४ जनाको परिवारलाई पनि मासिक रूपमा भत्ता दिन थालिएको उनले बताए ।
आक्रमणमा परेर निधन भएका नेपालीका परिवारजनलाई इजरायली कानुनअनुसार त्यहाँकै नागरिकसरह आजीवन भत्ता दिन थालिएको राजदूत हनान गोडरले बताए । ‘इजरायलमा रहेका नेपालीहरू हाम्रा अतिथि होइनन्, हाम्रो परिवारका सदस्य हुन् । हाम्रो कानुनले आतंककारी हमलाका इजरायली र नेपाली पीडितलाई समान व्यवहार गर्दछ,’ राजदूत गोडरले नयाँ पत्रिकासँग भने, ‘आतंककारी हमलामा मारिएका नेपाली विद्यार्थीहरूको परिवारलाई जीवनभरिका लागि मासिक भत्ता आउन थालेको छ । परिवारको नेपाली बैंकको खातामा स्टेट इन्सुरेन्स अफ इजरायलबाट सीधै पैसा पठाउन थालिएको छ ।’नयाँपत्रिकामा खबर छ ।