मोरङमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या
मोरङ । मोरङमा एक जना वृद्ध पुरुषले पत्नी (श्रीमती)को हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको खुलेको छ। उनीहरुको स्थायी ठेगाना यकिन भइसकेको छैन।
बमबहादुरले बुधबार बिहानका राति १:४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए। उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो।
पत्नीको विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठायो।
अस्पताल ल्याइपुर्याउनसाथ बिहान ३:२० बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए। प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरिसकेको छ। पति–पत्नीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।