सरकारी जग्गा हिनामिनामा विनोद चौधरीमाथि पनि अनुसन्धान
काठमाडाैं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद एवं अर्बपति उद्योगी विनोद चौधरी अनुसन्धानको दायरामा तानिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको हो ।
सिआइबीले सभामुखलाई पत्रमार्फत जानकारी गराउनुलाई चौधरी पक्राउसमेत पर्न सक्ने पक्षबाट हेरिएको छ । बिहीबारदेखि १० दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको अवस्थामा सिआइबीले सभामुखलाई पत्र लेखेको हो । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले ०४३ मा हडपेको थियो । उक्त जग्गामा समूहले सिजी चाँदबाग स्कुल चलाइरहेको छ ।
अनुसन्धानका क्रममा सिआइबीले विनोद चौधरीका भाइ अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत १८ माघमै पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ । अनुसन्धानका क्रममा प्रहरीले उद्योगी विनोद चौधरीलाई पनि हिरासतमा लिन सक्नेछ ।
सिआइबीका एसएसपी दिनेश आचार्यले सांसद एवं उद्योगी चौधरीविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढेको र सोही प्रक्रियाका लागि सभामुख घिमिरेलाई जानकारी गराइएको बताए । ‘सिआइबीले बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा अनुसन्धान गरिरहेको छ । यस क्रममा विनोद चौधरीविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने भयो । सोही जानकारी सभामुखलाई गराइएको हो,’ उनले भने, ‘चौधरी सांसद हुनुहुन्छ । सांसदमाथि अनुसन्धान गरिँदा सभामुखलाई जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार जानकारी गराइएको हो ।’
सिआइबीका अनुसार चौधरीमाथि अब बयान लिने प्रक्रिया अघि बढ्छ । बयान दिन इन्कार गरे पक्राउ गर्न सक्छ । ‘विनोद चौधरीविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढेको छ । अब हामीले उहाँसँग बयान लिनेछौँ । आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ्नेछ । अनुसन्धान प्रक्रियाले प्रवेश पाइसकेको छ,’ सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने । नयाँ पत्रिकाबाट