इलाम-२ मा कांग्रेसबाट भेषराज आचार्य निश्चित !
इलाम । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनकामा भेषराज आचार्यलाई टिकट दिने सम्भावना देखिएको छ । अन्य दलले उम्मेद्वार तय गरिसके पनि नेपाली कांग्रेसले अहिलेसम्म उम्मेद्वार टुंग्याउन सकेको थिएन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ बाट सिफारिस भएर आएका ७ जना आकांक्षीहरूसँग आज ४ बजे निवास बुढानीलकण्ठमा छलफल गरेसँगै आचार्यको टिकट पक्का जस्तै भएको कांग्रेस स्रोतले बतायो ।
सभापति देउवाले इलाम क्षेत्र नम्बर २ क्षेत्रिय कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै प्रदेशबाट सिफारिस भएका भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईलाई निवासमा बोलाएर सामूहिक छलफल गरेका थिए ।
क्षेत्रिय कार्यसमिति, जिल्ला कार्यसमिति हुँदै प्रदेश समितिबाट १ नम्बरमा सिफारिस भएका आचार्यलाई टिकट दिए मात्र कांग्रेस एक ढिक्का हुने र चुनाव जित्ने आँकलनसहित शेखर कोइराला पक्षका आचार्यलाई टिकट दिन देउवा लचक भएको कांग्रेस स्रोतको दाबी छ ।
केही साता अघिबाट कांग्रेस इलाम- २ मा आन्तरिक रूपमा केन्द्रित थियो । को उम्मेदवार बलियो छ आन्तरिक रूपमा बुझेपछि उम्मेदवार तय गर्ने गरी कांग्रेसले गोप्य रूपले मत सर्वेक्षण गरेको थियो ।
जसमा अन्य उम्मेदवारको तुलनामा आचार्यको मत बलियो भेटिएको स्रोतको दाबी छ । सरल स्वाभाव भएका आचार्य इलाम-२ का मतदातासँग हरेका दु:ख सुखमा हातेमालो गर्दै आएका विकास प्रेमी नेताका रूपमा परिचित छन् ।
कांग्रेसको गत फागुन ७ देखि १० गतेसम्म गोदावरी चलेको महासमिति बैठकले अबका चुनावमा उम्मेद्वार तयअघि पाइलट प्रोजेक्टका रूपमा प्राइमरी इलेक्सन गर्ने महामन्त्री विश्वप्रकाश शर्माको प्रस्ताव पारित भएको थियो ।
कांग्रेसले उम्मेदवार तय गर्नुअघि प्राइमरी इलेक्सन गर्न अहिले सम्भव नभए पनि आन्तरिक रूपमा सुझबुझका साथ उम्मेद्वार तय गर्न कांग्रस लागेको कारण स्थानीय क्षेत्रका लोकप्रिय रहेका आचार्यको सम्भावान ह्वात्तै बढेको हो ।
कांग्रेस महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले इलाम-२ का गतिविधि र पार्टीले लिनुपर्ने रणनीतिबारे सुष्म रूपमा हेरिरहेको एक नेताले बताए । ‘महामन्त्री शर्मालाई इलाम-२ को चुनावमा औपचारिक निर्णय गरेर खटाइएको होइन । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा, शर्माबीच सल्लाह गरेर रणनीतिक कार्यका लागि शर्मा केही समयदेखि झापा तथा इलाम क्षेत्रमा छन्,’ ती नेताले भने ।
कांग्रेसले चैत २० गतेसम्म इलाम २ को उम्मेदवार तय गरिसक्ने जनाएको छ । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही चैत २४ गते उम्मेद्वारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।