एसइईमा ‘डिजिटल’ चोरी : रौतहटमा एक हजार मोबाइल बरामद
सिराहाका केन्द्रबाट २५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद
लहान । आचारसंहिताविपरीत एसइईको परीक्षा हलमा मोबाइलै बोकेर जाने र चिट चोर्ने गरेको डरलाग्दो प्रवृत्ति देखिएको छ । ‘डिजिटल’ चिट चोरीका घटना प्रश्नपत्रको गोपनीयता र अनुशासित परीक्षाका लागि चिन्ताको विषय हो । यसबाहेक एसइईमा अनुशासनविपरीतका अरू धेरै घटना पनि सार्वजनिक भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिने विद्यार्थी मात्रै नभएर त्यहाँ खटिने कर्मचारीलाई समेत मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ । तर, कैयौँ विद्यार्थीले मोबाइल फोनबाटै चिट चोरेको पाइएको छ । उसको उदाहरण हो–परीक्षा सुरु भएयता रौटहतका विभिन्न केन्द्रबाठ एक हजार मोबाइल बरामद भएको परीक्षा बोर्डले बताएको छ ।
मधेशका अन्य जिल्लामा पनि मोबाइल फोन बोकेर जाने विद्यार्थी भेटिएका छन् । आइतबार परीक्षामा सप्तरीका केन्द्रमा मोबाइल हेरेका ७१ परीक्षार्थी परीक्षा हलबाट निकालिएका छन् । परीक्षा सुरु भएयता तीन दिनमा सिराहा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट दुई सय ५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद भएको छ । नक्कली परीक्षार्थीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । १६ चैतमा नै सिराहाकै जनता मावि गोलबजारमा एक विद्यार्थीको मोबाइलबाट प्रश्नपत्र बाहिरिएको भेटिएको छ । नयाँ पत्रिकामा खबर छ ।