सलाम नगरेको झोँकमा प्रहरी हवल्दारले जवानलाई चड्काए
काठामाडौ । सिंहदरबारभित्र प्रहरी हवल्दारले प्रहरी जवानलाई थप्पड हानेका छन् । आफूलाई सलाम नगरेको निहुँमा प्रहरी हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई गालामा थप्पड लगाएको बताइएको छ ।
उक्त घटना आज बिहान ११ बजेको समयमा अर्थमन्त्रालय परिसरमा भएको हो । हवल्दार भण्डारी अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को सुरक्षार्थ खटिएका हुन् भने जवान सिंह एसपी सन्तोष तामाङका अंगरक्षक हुन् ।
दुई दर्जन माओवादी कार्यकर्ताकै अघिल्तिर भण्डारीले सिंहलाई थर्काउँदै थप्पड हानेपछि माहौल एकछिन तनावग्रस्त बनेको बताइन्छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उक्त घटनाको विस्तृत जानकारी गराउन सिंहदरबार गणलाई निर्देशन दिएको छ । जनआस्थाले सिंहदरबार सुरक्षा गणसँग घटनाबारे विस्तृत बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।